तपाईँ सुन्दै हुनुहुन्छः

बजेट अभावका कारण अस्पतालको भवन निर्माण रोकियो

बाँके । बजेट अभावका कारण बाँकेको नरैनापुर गाउँपालिका–४ मा निर्माणाधीन अस्पतालको भवन निर्माण रोकिएको छ ।

पालिकास्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । १६ करोड ९७ लाख ५१ हजार ३ सय ५४ रुपैयाँको लागतमा भवन निर्माण थालिएको थियो ।

अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति ६५ प्रतिशत रहेको छ । गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेतका अनुसार निर्माण कम्पनीलाई रु ८ करोड २९ लाख भुक्तानी गरिएको छ ।

भवन निर्माणका लागि नरैनापुर गाउँपालिका र हनुमान कन्स्ट्रक्सन २०७९ चैत्र १० गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० असोज १० गते भित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा हनुमान कन्स्ट्रक्सन पाउनु पर्ने रकम नपाए पछि काम रोक्नु परेको प्रोजेक्ट इन्चार्ज रोजन थापाले बताउनु भयो । 

लेखा अधिकृत बस्नेतले अर्थ मन्त्रालयले समयमा पैसा नपठाइदिँदा अस्पतालको निर्माण कार्य प्रभावित भएको बताउँदै उहाँले पुनः २०८१ असार मसान्तका लागि म्याद थप गरिएको जानकारी दिनु भयो । प्रोजेक्ट इन्चार्ज थापाले बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या हुने गरेकाले यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button