तपाईँ सुन्दै हुनुहुन्छः

वनमा आगो लगाउने दुई जना पक्राउ 

 गुल्मी । गुल्मीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–७ सिस्न्यारा पातल सामुदायिक वनमा आगो लगाउने सोही स्थानका दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नम्बर–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी पक्राउ परेको डिभिजन वन कार्यालय गुल्मीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । आरोपी दुवै जनाले सामुदायिक बनमा आफूहरूले आगो लगाएको स्वीकार गरेका छन् । 

उनीहरुलाई नेटा बजारबाट वैशाख १७ पक्राउ गरिएको थियो । उनीहरूले गत ७ गते आगो लगाएर फरार भएका थिए । उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ । पक्राउ परेका उनीहरुलाई तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकज कुमार ठाकुरले बताउनुभयो । जिल्लाको इस्मा, मदाने र गुल्मी दरबारमा घरगोठमा थुप्रै क्षति भएको छ । घटनास्थलमा राहात र उद्धारको काम भइरहेको छ ।  

जिल्लाका १२ स्थानीय सरकारका ८० सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट दुई हजार बढी हेक्टर क्षेत्रफल वन नष्ट भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button