तपाईँ सुन्दै हुनुहुन्छः

खानी तथा भूगर्भ विभागद्वारा दाङका सिमेन्ट उद्योगहरूको चुनढुङ्गा उत्खनन् बन्द

दाङ । खानी तथा भूगर्भ विभागले दाङको विभिन्न स्थानमा रहेका सिमेन्ट उद्योगहरूको चुनढुङ्गा उत्खनन् कार्यलाई बन्द गराएको छ । 

विभागले दाङको बंगलाचुली गाउँपालिकाको विभिन्न वडामा रहेको सम्राट सिमेन्ट कम्पनी प्रा.लि., सगरमाथा सिमेन्ट उद्योगको विश्वकर्मा माईन्स एण्ड मिनरल्स प्रा.लि., र शुभश्री अग्नी सिमेन्ट उद्योग लिमिटेड र बबई गाउँपालिकाको दाङ सिमेन्ट ईन्डस्ट्रिज प्रा.ली.को चुनढुङ्गा उत्खनन् कार्यलाई रोक लगाएको हो । 

सिमेन्ट उद्योगहरूले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को देहाय (ङ) बमोजिम खनिज पदार्थ भण्डारण गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरू राख्नुपर्ने कानुनी प्रावधान अनुसार उत्खनित परिमाणको मापन गर्ने यथोचित यन्त्र (तौलपुल) राख्नुपर्नेमा नराखेको भन्दै खनिज उत्खननको निर्देशन दिएको विभागद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।   

खानी तथा भूगर्भ विभागले खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ (३) बमोजिम खानीबाट उत्खनन् र खानी सञ्चालन स्थगन गराएको जारी पत्रमा उल्लेख गरिएको छ ।  

खानी विभागले सिमेन्ट उद्योगहरूलाई पटक पटक सार्वजनिक सूचनामार्फत उत्खनित परिमाणको मापन गर्ने यथोचित यन्त्र (तौलपुल) राख्न गरेको ताकेतालाई बेवास्ता गरेको र खनिज उद्योगहरूले तोकिएको समयावधिभित्र खानीद्वारमा उत्खनित परिमाणको मापन गर्ने यथोचित यन्त्र जडान गरी सञ्चालन समेत नगरेको भनी खनिज उत्खनन स्थगन गराएको पत्रमार्फत जानकारी गराएको छ ।

विभागका रिसर्च अफिसर वसन्त अधिकारीद्वारा जारी पत्रमा जिल्ला प्रशासन कार्यालय दाङ, ,जिल्ला प्रहरी कार्यालय, ,जिल्ला समन्वय समितिको कार्यालय खानी अनुमति तथा प्रशासन शाखा, बंगलाचुली गाउँपालिका, र बबई गाउँपालिका दाङलाई संयुक्त रुपमा पत्र लेखी चुनढुङ्गा उत्खनन् कार्यलाई रोक्न सहजिकरण गरिदिन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button