तपाईँ सुन्दै हुनुहुन्छः

सबै दलहरूको सहमतिमा संविधान संशोधनको कार्यलाई अगाडि बढाइने: गृहमन्त्री लेखक

कञ्चनपुर  । गृहमन्त्री रमेश लेखकले सबै दलहरूको सहमतिमा संविधान संशोधनको कार्यलाई अगाडि बढाइने बताउनु भएको छ । गृह जिल्ला कञ्चनपुरमा बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले नौ वर्ष अगाडि सबैको सहमतिमा जारी गरिएको नेपालको संविधानको गहन समीक्षा गरी समयानुकूल संशोधन गर्नुपर्ने धारा उपधाराहरूमा सबै दलको सहमति जुटाएर मात्रै संशोधन गरिने उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेस र नेकपा एमालेबिचको वर्तमान गठबन्धन अगामी निर्वाचनसम्म नै कायम रहने दाबी गर्नुहुँदै मन्त्री लेखकले दुई दलबिच भएको सहमति अनुरूप नेतृत्व भने परिवर्तन हुने उल्लेख गर्नुभयो । सहकारी सम्बन्धी केही विवादका बारेमा संसदीय समितिले छानबिन गरिरहेको बताउनुहुँदै मन्त्री लेखकले संसदीय समितिले हेर्ने बाहेकका अन्य सहकारी लगायतका मुद्दाहरूमा कानुन अनुरूप अघि बढ्ने सुनाउनु भयो । उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सडकमा जान आवश्यक नरहेकोले सांसदमै आफ्ना कुरा राख्न अनुरोध गर्नुभयो ।
६ वर्ष अगाडि २०७५ साउन १० गतेका दिन कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको जघन्य अपराधमा संलग्न अपराधीको अहिलेसम्म पहिचान नभएको विषयलाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्नुहुँदै गृहमन्त्री लेखकले उक्त घटनाको सूक्ष्म ढङ्गबाट अनुसन्धान अघि बढिरहेको जानकारी दिनुभयो । निर्मलाको न्यायिक आन्दोलनका क्रममा घाइते भएका सबै घाइतेको पक्षमा पनि काठमाडौँ फर्किए लगत्तै केही न केही निर्णय गरिने उहाँले आश्वासन दिनुभयो ।
यसका साथै गृहमन्त्री रमेश लेखकले गृह जिल्ला कञ्चनपुरका ठुला आयोजनाहरू दोधाराचाँदनी सुख्खा बन्दरगाह, महाकाली कोरिडोर, दैजीछेला औद्योगिक क्षेत्र, हुलाकी सडक लगायतको निर्माण कार्यलाई तीव्रता दिन सरकारको तर्फबाट आवश्यक कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button