तपाईँ सुन्दै हुनुहुन्छः

लौण्डाको जीवनीमा आधारित नाटक ‘नवरंगी’ भोली प्रदर्शन हुने

काठमाडौँ । लौण्डाको जीवनीमा आधारित नाटक ‘नवरंगी’ सांस्कृतिक संस्थान तथा राष्ट्रिय नाचघर जमलमा भोली प्रदर्शन हुदैँछ । 

मधेशको लोक संस्कृति झल्काउने उक्त नाटकको निर्देशन रुपेश मण्डलले गर्नुभएको हो ।

नाटकमा कलाकारहरू क्रमशः रमिता यादव सिरहा, रुपेश मण्डल धनुषा, अन्जली साह सिन्धुली , सुदिप पटेल धनुषा, प्रमोद यादव सिरहा र दिपेश मण्डल धनुषा रहनुभएकाे छ। त्यस्तै, सञ्जिला सुमित्रा, अर्घाखाँची (प्रविधि संयोजन), कुन्दन थारु (मञ्च व्यवस्थापन), सङ्गीत संयोजनमा तनुजा चौरासिया, सप्तरी, र बिन्देश्वर मण्डल, धनुषा रहनुभएको छ ।

प्रसिद्ध नाट्यकर्मी हरिप्रसाद रिमाल र उहाँकाे धर्मपत्नी कल्याणीका नाममा स्थापित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठान’द्वारा आयोजित ‘प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सव–२०८१’ मा सातै प्रदेशबाट विभिन्न ३२ वटा नाटकहरू मध्ये ६ वटा नाटक छनौट भई क्रमशः भदौ ३०, ३१ र असोज १ गते प्रदर्शन हुने छ । 

प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका सदस्य सचिव सम्राट सापकोटाले प्रतियोगिताका लागि प्राप्त ३२ नाटकमध्ये ६ वटा छनोट गरी प्रदर्शन गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा उत्कृष्टमध्ये पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार नगद तथा ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।

नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई पनि जनही रु १५ हजार तथा छनोट भएका छ नाटक समूहलाई नाटक अभ्यासका लागि २०–२० हजार रुपैयाँ दिइनेछ ।  

नाट्यकर्मी, चलचित्रकर्मी तथा ‘रेडियो नेपाल’का प्रथम गायक रिमालको जन्मशताब्दीका अवसरमा आयोजना हुने सो महोत्सवमा दुई वर्षका कार्यक्रम एकै पटक हुने र केही व्यक्तित्वलाई ‘शताब्दी स्मृति सम्मान’ पनि गरिने प्रतिष्ठानका सदस्य सचिव घनश्याम गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button