तपाईँ सुन्दै हुनुहुन्छः

मधेसी पहिचानमा गर्व गर्नुपर्छ : अध्यक्ष राउत

बाँके । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले पहिचानबाट भाग्न नहुने र मधेसी पहिचानमा गर्व गर्नुपर्ने बताउनुभएको छ ।

नेपालगन्जमा जनमत पार्टीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले पहिचानको विभेदबाट मुक्ति पाइन्छ कि भन्ने उद्देश्यले सङ्घर्ष गरिरहेको बताउनुभयो । उहाँले इतिहासमा मल्ल राजाहरू मधेसबाट पहाड गएको चर्चा गर्नुभएको थियो । मधेसी हुनुमा सबैले गर्व गर्नुपर्ने र यसमा हीनताबोध गर्नुपर्ने कुनै कारण नभएको जिकिर उहाँले गर्नुभयो ।

डा. राउतले अधिकार सम्पन्न प्रदेशको रुपमा लुम्बिनीलाई बिकास गरेर अगाडी जानुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि, जनमतका उपाध्यक्ष एवम् पूर्व खानेपानी मन्त्री अब्दुल खानले देशमा समाजवाद आउने अवस्था तयार नभएको दाबी गर्नुभयो ।

खानले संविधान सभामा मधेसको मुद्दालाई सशक्त रूपमा उठाउन मधेसी जनताले जिताएका मधेसी नेताहरू सत्तामा रुमलिएर छिन्नभिन्न भएकोले मधेसको समस्या समाधान नभएको र जनमत पार्टीले मधेसको समस्या समाधान गर्ने गरि काम गरिरहेको बताउनुभयो । वर्तमान सरकारलाई टिकाउन सके देशमा महत्त्वपूर्ण परिवर्तन हुने उहाँको भनाई थियो ।

नेपालगन्जमा आयोजित प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका अनुशासन विभाग प्रमुख दिपक शाह, सङ्गठन विभाग प्रमुख जयकान्त राउत, केन्द्रीय सदस्य सन्ध्या देव, हरपाल सिंह लगायतले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button