तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारले पहिलो पटक भव्य रुपमा मनायो संविधान दिवस

जनकपुरधाम । मधेश प्रदेश सरकारले पहिलो पटक औपचारिक रुपमा जनकपुरधाममा भव्य कार्यक्रमको आयोजना गरेर संविधान दिवस २०८१ मनाएको छ । 

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा जनकपुरधामको रामानन्द चोकबाट प्रभातफेरि सहित निष्केको प्रभात फेरि सहितको जुलुस नगर परिक्रमा गर्दै जनकपुरधामको वडा न-४ निधि भवनमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वर्तमान संविधानका उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि काम गर्न आवश्यक भएको बताउनु भयो । उहाँले संविधानमा सङ्घीयता, लोकतन्त्र सहितको गणतन्त्र ठूलो उपलब्धिको रुपमा आएको बताउनुभयो । सङ्घीयताले खर्च बढाएको हल्लामा कुनै सत्यता नभएको बताउनुहुँदै अहिले पालिकाको सङ्ख्यामा कमी आएको र प्रदेश तथा स्थानीयलाई दिने बजेट ३० प्रतिशत मात्र हुँदा पनि पनि धेरै विकासको कामहरू भएको दाबी गर्नुभयो । 

मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भएर संविधान बलियो हुने बताउनुहुँदै संविधानमा भएको असहमतिहरूको सम्बोधन सार्थक तरिकाले गर्दै जानु पर्ने धारणा राख्नु भयो । उहाँले वर्तमान संविधान आएपछि गाउँ गाउँमा विकासको लहर नै आएको बताउँदै अहिले गाउँमा हिलोको अवस्थाको अन्त्य हुनुका साथै शहरी क्षेत्रका सडक, ढलमा व्यापक सुधार भएको दाबी गर्दै संविधान दिवसलाई आम जनताले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने धारणा राख्नुभयो । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले वर्तमान संविधानले दिएको उपलब्धिहरूको संस्थागत विकास गर्दै थप उपलब्धिका लागि संविधानको परिमार्जन सहित थप काम गर्दै जानु आवश्यक भएको बताउनुभयो । 

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले नेपालमा संवैधानिक इतिहासको बारेमा जानकारी दिँदै वर्तमान संविधानले प्रदान गरेको उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धि तथा जनताको असन्तुष्टिको सम्बोधन गर्दै विकसित संविधानको रुपम दिन आवश्यक भएको बताउनुभयो । 

यस अघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ब्यान्ड सहित निष्केको प्रभात र्‍यालीमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह सहित प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभाका सदस्यहरु, नेपाल सरकार तथा प्रदेश सरकारका उच्च पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा प्रतिनिधिहरू, विद्यालयका विद्यार्थीहरू तथा समाजका अन्य क्षेत्रका व्यक्तिहरू सहभागी रहनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button