तपाईँ सुन्दै हुनुहुन्छः

जनताको स्वास्थ्यमा खेलबाड गर्नेलाई छुट हुँदैन : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आम जनताको स्वास्थ्य सेवासँग खेलबाड गर्नेमाथि प्रदेश सरकारले अब कारबाही गर्ने बताउनुभएको छ ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय स्तरको संघ संस्थाहरूको जनकपुरधाममा आयोजित समन्वय बैठकमा उहाँले जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारमाथि कही कतैबाट कुण्ठित गरेको पाइए ती संस्थाका जिम्मेवार व्यक्तिलाई तत्काल कारबाही गरिने बताउनुभयो ।

मधेश प्रदेशको १ हजार २ सय ७१ वटामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि प्रदेश सरकारबाट चाहिने हरेका प्रकारको सहयोग गर्न तयार भएको बताउँदै यसमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहयोगका लागि मुख्यमन्त्री सिंहले आग्रह गर्नुभयो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले स्वास्थ्यको क्षेत्रका कतिपय विषयमा संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वयको अभाव भएका कारण पनि गरिब तथा विपन्न वर्गमा कतिपय स्वास्थ्य सेवाहरू दिन नसकिएका कारणले मधेश प्रदेश धेरै विषयमा पछाडि परेको बताउनुभयो । उहाँले मधेश प्रदेशको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्नका लागि सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर काम नगरेसम्म सम्भव नभएको बताउँदै समन्वयका लागि प्रदेश सरकार सधैँ तयार भएको बताउनुभयो ।

संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले अहिले स्वास्थ्य साक्षरताको अवस्था कमजोर भएको कारणले स्वास्थ्यका कतिपय सूचकहरूमा मधेश प्रदेश पछाडि रहेको बताउँदै स्वास्थ्य साक्षरतामा जोड दिन जरुरी रहेको बताउनुभयो ।

अध्यक्षको आसनबाट मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. संजय कुमार ठाकुरले ५२ प्रतिशत मधेशका जनता अहिले पनि स्वास्थ्य सेवा पाउनका लागि रकम तिर्नुपर्ने अवस्था रहेकाले स्वास्थ्य क्षेत्रमा अझै सुधारको धेरै खाँचो भएको औँल्याउनुभयो ।

कार्यक्रममा युनिसेफका नेपाल प्रमुख नवीन पौडेल, मधेश प्रदेशका निमित्त प्रमुख सचिव राजन नेपाल, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि रमेश कुमार यादव, यू एस ए आई डीका विजय कुमार झा र वरिष्ठ जनस्वास्थ्य प्रशासक नीलाम्बर अधिकारीले मधेश प्रदेशको समग्र स्वास्थ्य अवस्थाका विषयमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button