तपाईँ सुन्दै हुनुहुन्छः

पेन्सन कोषलाई यसै वर्षदेखि सञ्चालन गरिन्छ : कार्यकारी निर्देशक लामा

काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामाले सेवा निवृत्त हुनुभएका कर्मचारीहरूको समस्यालाई दिगो रुपमा समाधान गरिने बताउनुभएको छ ।

रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा आज पूर्व कर्मचारीहरूको तर्फबाट बधाई तथा शुभकामना दिने कार्यक्रममा कार्यकारी निर्देशक लामाले पेन्सन कोषलाई यो वर्षबाट सञ्चालन गरी पेन्सनको समस्यालाई स्थायी रुपमा समाधान गरिने बताउनुभयो ।


कार्यकारी निर्देशक लामाले सार्वजनिक प्रसारण सेवा सम्बन्धी कानुन बनाउँदा कर्मचारीहरू सचेत र चनाखो हुनुपर्ने भन्दै निवृत्तिभरण भएका कर्मचारीलाई कुनै पनि विभेद नहुने गरी व्यवस्थापन गरिने र पूर्व कर्मचारी काउन्सिल गठन गर्न सेवा निवृत्त कर्मचारीलाई आग्रह गर्नुभयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पेन्सनका लागि बजेट निकासा हुने प्रक्रियामा रहेकाले चाँडै नै समस्याको समाधान हुने जानकारी दिनुभयो ।

सेवा निवृत्त कर्मचारी भरत घिमिरेले सार्वजनिक प्रसारण सेवा (पिएसबी)मा सेवा निवृत्त कर्मचारीहरूको पेन्सनको सुनिश्चितता हुनुपर्ने, निवृत्तिभरण भएपछि पाउने सेवा सुविधा पाउनुपर्ने भन्दै कार्यकारी निर्देशकको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी सेवा निवृत्त कर्मचारी श्याम मान श्रेष्ठ र प्रेम भट्टराईले कार्यकारी निर्देशक लामाले गर्नुभएको प्रतिबद्धताप्रति आशावादी भएको र कर्मचारीको जिउने माध्यम पेन्सनलाई नियमित गरिदिन कार्यकारी निर्देशक समक्ष आग्रह गर्नुभयो ।

रेडियो नेपालमा पेन्सन पाउने सेवा निवृत्त कर्मचारीको सङ्ख्या २ सय ८२ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button