तपाईँ सुन्दै हुनुहुन्छः

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संविधान दिवसको अवसरमा नागरिक समाजले काठमाडौँको दरबारमार्गमा आयोजना गरेको कन्सर्ट अवलोकन गर्न तथा त्यहाँ उपस्थित भएका जनसमुदायलाई उत्साहित बनाउन समारोहस्थलमा उपस्थित हुनुभएको छ । 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को सबैमा शुभकामना दिनुहुँदै संविधानको सफल कार्यान्वयन गरी जनताको अपेक्षा अनुसार वर्तमान सरकार अगाडि बढिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराईसमेत कार्यक्रम स्थल पुगी कार्यक्रमको अवलोकन गर्नुभयाे । 

उहाँ उपस्थिति हुँदा ‘गाउँगाउँबाट उठ…’ बोलको गीत प्रस्तुत भएको थियो । सहभागीहरूले नृत्यसँगै राष्ट्रिय झण्डा हल्लाएर प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । कलाकारहरूले गीत प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री ओली कार्यक्रममा पुग्नुभएको थियो । 

त्यसअघि कन्सर्टमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरिएको थियो भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् ।

समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकार आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको क्रमशः प्रस्तुति भइरहेको छ । 

संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा मनाइँदै आएको छ ।

साङ्गीतिक कार्यक्रम अवधिभर दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ भने काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button