तपाईँ सुन्दै हुनुहुन्छः

क्षयरोगबाट राउटे युवकको मृत्यु

दैलेख ।  क्षयरोगबाट एक जना राउटे युवकको मृत्यु भएको छ । २२ वर्षीय वृषबहादुर शाहीको क्षयरोगबाट मृत्यु भएको हो ।

मृतक शाहीलाई गत भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । उनको उपचार सम्भव नभएपछि राउटे समुदाय बसोबास गरेको स्थान गुराँस गाउँपालिका १ सिमेसाल फर्किँदै गर्दा वुधवार राती ९ बजे सुर्खेतको कल्यानकाँधमा उनको मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले  जानकारी दिनुभयो । 

बिसीका अनुसार मृतक शाही विगत ६ महिना देखी बिरामी थिए । उपचार गर्न नमानेको र सम्झाई बुझाई गरी भदौ ३१ गते उपचार गर्न सहमति जनाएसँगै उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्यकर्मी विसीले जानकारी दिनुभयो । गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत लगेर खकार चेक गर्दा क्षयरोग (टिबी) रोग देखिएको स्वास्थ्यकर्मी विसीले बत्ताउनुभयो ।

उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिएका छन् । क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा राउटे समुदाय मन्जुर नहुँदा अस्पतालले डिस्चार्ज गरिदिएपछि फर्किँदै गर्दा बाटोमा शाहीको मृत्यु भएको हो ।

मृतक युवक कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साँईला सन्तान हुन् । यस अघि उनका दाजु कपिल शाहीको ६ बर्ष अघि मृत्यु भएको थियो । २०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् । मृतक वृषबहादुर शाहीसँगै राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । हाल यो समुदाय गुराँस गाउँपालिका १ को सिमेसालमा बसोबास गरिरहेका छन् । २०७५ असार यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button