तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा  विराटनगरमा भव्य कार्यक्रमको आयोजना

विराटनगर । संविधान दिवसको अवसरमा विराटनगरमा आज बिहान प्रभातफेरीकाे आयोजना गरियो । कोशी प्रदेश संविधान दिवस मुल समारोह समिति–२०८१ को आयोजनामा भएको प्रभातफेरीमा कोशी प्रदेश प्रदेशसभा सदस्य, उद्योगी , व्यवसायी विद्यालयका विद्यार्थी, तिन वटै  सुरक्षा निकायका प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी  सहित सर्वसाधारणको ठुलो सङ्ख्यामा सहभागिता रहेको थियो । 

विराटनगरको आदर्श विद्यालयबाट बाजागाजा , विभिन्न समुदायका झाँकी सहित निस्केको प्रभातफेरी महानगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः सो विद्यालयमा आएर औपचारिक समारोहमा  परिणत भएको थियो ।

सो अवसरमा बोल्नुहुँदै संविधान दिवस मुल समारोह समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मत कुमार कार्कीले, नेपालको संविधान विश्वकै संविधानमध्ये उत्कृष्ट संविधान भएकाले यस्को कार्यान्वयनमा जोड दिनुभयो । नेपालको संविधानले सबै जातजाति , समुदायको अधिकारलाई संवोधन गरेकाले संविधानलाई समयानुकूल परिमार्जन र संशोधन गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले संविधानको मुलमर्म अनुसार आर्थिक समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढेको बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि एवं कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानले सबै जाती समुदायको भावनालाई सुनिश्चित गरेको बताउँदै सङ्घीयता कार्यान्वयनमा जोड दिनुभयो ।

 सो अवसरमा संविधान दिवसको अवसरमा आयोजना गरिएको वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता विजेताहरूलाई  पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा १५ वटा विभिन्न जाती समुदायले आ–आफ्नो भेषभुषा तथा संस्कृति , परम्परा  अनुसारका झाकी प्रस्तुत गरेका थिए ।

 सो अवसरमा कोशी प्रदेशसभाका सभामुख, उप–सभामुख , कोशी प्रदेश सरकारमा मन्त्री, उच्च अदालतका मुख्य न्यायधीश तथा प्रदेशका प्रमुख सचिव साथै  मन्त्रालयका सचिवहरुको समेत सहभागिता रहेको थियो । 

 संविधान दिवसका अवसरमा आज साँझ घरघरमा दीपावली गरिने भएको छ भने दिवसका अवसरमा सरसफाइ तथा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिने कार्यक्रम रहेको मुल समारोह समितिले जनाएको छ । यसैगरि संविधान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले पनि आज बिहान वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । महानगरपालिकाले विराटनगरको वरगाछी– रानी सडकका डिभाइडरमा वृक्षारोपण गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button