तपाईँ सुन्दै हुनुहुन्छः

अबको बजेटले सुदूरपश्चिम र कर्णालीको सन्तुलन कायम गर्छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटले अरू प्रदेश सरह सुदूरपश्चिम र कर्णाली प्रदेशको सन्तुलन कायम गरिने बताउनुभएको छ ।

नेकपा (एमाले) बैतडी–काठमाडौँ सम्पर्क मञ्चको नवौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगतका बजेटमा सुदूरपश्चिम र कर्णालीलाई अन्य प्रदेशभन्दा अनुपातका हिसाबले कम बजेट विनियोजन हुने गरेको भएपनि अबको बजेटमा केही हदसम्म सबै प्रदेशको सन्तुलन कायम गरिने उल्लेख गर्नुभयो ।

सरकारले अहिले देशमा भएका जडीबुटी, ऊर्जा, पर्यटन, कृषि तथा खानी उत्खननका माध्यमबाट देशलाई समृद्धिको बाटोमा अगाडि लैजान खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले ती सबै कुराको सुदूरपश्चिममा प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिमका स्रोत साधनको सरकारले उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकार सहकारीभित्रका समस्या चाँडै सम्बोधन गरेर निजी क्षेत्रसँगको सहकार्यमा देशको अर्थतन्त्रलाई चलायमान बनाइने उहाँको भनाइ छ । मन्त्री भण्डारीले उद्योग मन्त्रालयमा थन्किएर रहेका उद्योग तथा व्यापारसित सम्बन्धित नीति तथा कानुनलाई आफूले कार्यान्वयनको चरणमा लैजान हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।

कार्यक्रमको उद्घाटन समारोहमा एमाले केन्द्रीय सम्पर्क सम्पर्क समन्वय कमिटी सचिव इन्द्र भण्डारी, सचिवालय सदस्य तथा बैतडी–काठमाडौँ सम्पर्क मञ्चका इन्चार्ज प्रेमराज भट्ट, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्द, सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरी, एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारी लगायतले युवा शक्तिलाई परिचालन गर्दै मिसन २०८४ सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button