तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उत्पादनमा बृद्धि हाम्रो प्रतिबद्धता होः उपाधध्यक्ष राजुदेबी यादब 

सप्तरी I सप्तरी जिल्लामा रहेको  १८ स्थानीय तह मध्ये छिन्नमस्ता गाउँपालिका जिल्लाको दक्षिण भेगमा पर्दछ ।

यसको दक्षिणमा भारतीय सिमा, पूर्वमा तिलाठी, कोइलाडी गाउँपालिका र भारतीय सिमा, उत्तरमा बिष्णुपुर गाउँपालिका र पश्चिममा राजगढ गाउँपालिका र भारतीय सिमा क्षेत्रसंग जोडिएको छ । छिन्नमस्ता  गाउँपालिकामा हाल ७ वटा वडाहरु छन् । यो गाँउपालिका  ३८.७२ बर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ । यहाँको प्रसिद्ध धार्मिक स्थल छिन्नमस्ता भगवतीको नामबाट नामकरण गरिएको यस गाउँपालिकाबाट निर्बाचित महिला उपाध्यक्ष राजुदेबी यादब नेकपा माओबादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष हुनुहुन्छ । उहाँसंग रेडियो नेपालको प्रतिनिधि दुर्गा दाहालले गाँउपालिकाको समग्र बिषयमा गरेको कुराकानीः

गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएपछि के कस्ता काम गर्नुभयो ?

हामीले न्यायिक समिति चुस्त दुरुस्त  तवरले सञ्चालन गर्नका लागि प्रत्येक सोमबार र शुक्रबार बैठक अनिवार्य सहित इजलाश ब्यबस्थापन  गरेका छौ ।  निर्बाचित भएर आएपछि कृषिमा हामीले किसानलाई  बिधुतिकरण  र बिलमा ५० प्रतिशत छुट  दिएकाछौं । तीन वटा नयाँ  कृषि सडक निर्माण गरेका छौं । यसअघि  शिक्षामा  २ वटा माबि थियो । अहिले एउटा माबि थपेको  र एउटा निमाबि तथा ५ वटा प्राबि समेत थप्नुका साथै  ३ बर्षे ओभरसियर  पढाइ समेत सँचालन गरिएको छ । गाउँमै सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन पालिकाले स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर‘ सञ्चालन गर्ने ब्यबस्था गरेको छ । यस अघि नियमित हुन नसकेको परिषद बैठक अहिले नियमित गरेका छौं ।  

निर्वाचनपछि स्थानीय सरकारमा आएर के–कस्ता समस्या भोग्नुभयो ? महिला जनप्रतिनिधि भएको नाताले थप केहि समस्या आए कि ? 

जनप्रतिनिधि भएपछि बिभिन्न समस्याहरु आए नै । तर ती समस्याहरुसंग जुद्धै आफुसंगै निर्बाचित जनप्रतिनिधि र स्थानीय जनतासँग सहकार्य गर्दै आइरहेको छु ।  त्यो कारणले मलाई सहज भएको छ । हाम्रो जस्तो पितृसतात्मक देशमा महिलालाई हरेक काममा चुनौती छ । त्यस माथि म त तराइको महिला । घरभित्रबाट बाहिर ननिस्कने, घुङगटभित्रै बस्नु पर्ने समुदायबाट यसरी बाहिर आएर काम गर्नु ठुलो चुनौतीको कुरा हो । नेपाली समाजमा अझै पनि महिला र पुरुष बिच निकै विभेद छ ।  महिलाहरु राजनीतिमा आएर के गर्न  सक्छन र ? भन्ने  जनमानसमा  अत्यधिक भान छ । त्यो चिर्न आवश्यक छ  । मेरो  यो आफ्नो कार्यकालको अबधिमा जस्तोसुकै चुनौती आए पनि मैले जनताको काम गरेर देखाउनु छ र म त्यस्को लागि निरन्तर दिन रात नभनि खटिरहेको छु । मलाई यो थाहा छ कि म महिला जनप्रतिनिधि हुँ र जस्तोसुकै परिस्थिति र चुनौती आए पनि डटेर सबैसंग हातेमालो गरेर काम गर्नुपर्दछ । गर्दै आएको छु र आगामी दिनमा पनि गर्नेछु । 

यहाँको अधिकांश जमिन कृषिको उर्बरभुमि रहेछ । स्थानीयहरु कृषि पेशामा निर्भर रहेछन् । कृषि क्षेत्रको विकासका लागि के कस्ता योजनाहरु ल्याउनुभएको छ ?

यो पालिकाका ९० प्रतिशतको हाराहारीमा कृषियोग्य उर्बर जमिन रहेको छ । ४० हजारको हाराहारीमा जनसंख्या रहेको हाम्रो पालिकामा झन्डै ९० प्रतिशत भन्दा बढि नागरिक कृषि पेसामा आबद्ध छन् ।  यहाँको स्थानीय जनता कृषि पेशामा आश्रित छन् । हामीले किसानलाई खेतबारीमा जान सहज होस भनेर कृषि सडकको व्यवस्था गरेका छौं ।  अहिले हाम्रो  अधिकांश खेतमा ३ बाली फसल  उब्जनी हुन्छ । मलखाद सहज ढङ्गबाट उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ । कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाले खेतमा सिँचाइ सुविधा पनि पु¥याउने निर्णय गरेका छ । यहाँ सिँचाइको अन्य विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्नुपर्ने थियो। यसले सिँचाइ गर्दा महँगो हुन्थ्यो । जसका कारण किसान मारमा थिए । त्यसको अन्तयका लागि ”कृषि विद्युतीकरण” भन्ने अवधारणा ल्यायौं। यसबाट किसानले  कम लागतमा धेरै सिँचाइ गर्न सक्ने छन् । किसानको सहजताको लागि हामीले सिचाइ गर्दा मिटरमा उठने ५० प्रतिशत महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेका छौं । यो हाम्रो निर्णयले किसान लाभान्वित हुने छन् । किसानहरुका लागि सिँचाइको विद्युत् महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि स्थानीय किसानहरु उत्साहित पनि छन् । 

तपाई न्यायिक समिति संयोजक पनि हुनुहुन्छ, कस्ता खालका मुद्दाहरु बढी आउँछन् र तिनीहरुलाई कसरी समाधान गर्नुहुन्छ ?

जेष्ठ नागरिकवाला जस्ता समस्याहरु जसमा, वृद्घ बुवा आमालाई खान पिन नदिने, कुटेर  भगाउने समस्या छन् । यहाँ जग्गा सम्बन्धी मुद्दा बढी आउने गर्दछ । यसमा आली साँध सिमाना सम्मबन्धी समस्या छन् । महिला सम्बन्धी घरेलु हिंसा र बिबाद आउने गर्दछ । ज्यालादरी सम्बन्धी समस्यामा काम लगाएर रकम नदिने समस्या पनि  आउने गर्दछ । यस्ता किसिमका समस्या समधानको लागि हामीले दुबै पक्षलाई झिकाएर मिलापत्र गराउने गरेका छौं ।  बैबाहिक बिबाहको दाइजो प्रथाको पनि समस्या आउने गर्दछ । हामीले  मिलापत्रको माध्यमद्घारा फैसला गर्ने गरेका छौं । तर, यदि बिबाद नमिलेमा न्यायिक समितिले सिफरिस गरेर अदालतमै  पठाउने गरिएको छ । नाबालिक जन्मदर्ता सम्बन्धी बिबादत हाम्रो न्यायिक सिमतिले सर्बदलिय छलफल गरेर छिनोफानो गर्ने गरेको छ । यस्तै, पालिकामा एक अर्कालाई असर पर्ने गरि रुखबिरुवा लगाउने, अरुको सिमामा बाउन्ड्री लगाउने जस्ता बिबाद पनि आउने गर्दछ। कुनै मुद्दा चाँहि जग्गा खरिद गरेर या ऋण बापत धितो राख्दा ऋण मिनाहा गर्दा पनि जग्गा फिर्ता नगर्ने जस्ता समस्यालाई जिल्ला न्यायिक समिति अन्तर्गत न्यायिक समितिलिे सिफारिस गरेर पठाउने गरिएको छ । हाम्रो छिन्नमस्ता गाँउपालिकामा आउने ८० प्रतिशत मुद्दा हामीले मेलमिलाप गरेर न्यायिक समितिद्घारा टुङगाउने गरेका छांै । सानो सानो मुद्दा पालिका अन्तर्गत समाधान गर्ने गरेका छौं ।  जसका कारण सानोतिनो झै झगडा लिएर अदालत जान पर्ने अवस्थाको अन्तय भएको छ ।   

अन्त्यमा, मिडिया मार्फत समग्र छिन्नमस्ता गाँउपालिकाको सन्र्दभमा के भन्न चाहनुहुन्छ ?

यस छिन्मस्ता गाँउपालिका बिभिन्न सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपुर्ण भएता पनि यसका प्रचार प्रसार सहज ढंङले नभएको तथा बिगत कालको मधेश आन्दोलनपछि पहाडिया समुदायको धारणमा परिवर्तन आएकाले यहाँको बिकासमा समेत असर परेको देखिन्छ । म यस छिन्नमस्ता गाँउपालिकाप्रति सकरात्मक धारणा बनाउन तथा यसको समग्र पक्षको स्थलगत भ्रमण गरि सहयोग पुर्याउन आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button