तपाईँ सुन्दै हुनुहुन्छः

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित : अध्यक्ष बस्नेत

रौतहट । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र मानवजीवन सुरक्षित हुने धारणा राख्नुभएको छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानअन्तर्गत आज रौतहटको चन्द्रपुर नगरपालिका—९ चेतनगर, मरधर, सिन्धुरेघारीमा भएको वृक्षारोपण कार्यक्रममा अध्यक्ष बस्नेतले त्यस्तो धारणा राख्नुभएको हो ।

उहाँले जलवायु परिवर्तनका कारण नेपालमा गम्भीर असरले परिरहेकाले यसको न्यूनीकरणका लागि सञ्चारमाध्यमले पनि सचेतना वृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्द चौलागाइले समाजमा रहेका प्रत्येक नागरिकले आफ्नो जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोपेर पर्यावरण जोगाउन सकारात्मक सन्देश फैलाउनुपर्ने बताउनुभयो । उहाँले अभियानलाई देशका ७७ जिल्लाका सात सय ५३ स्थानीय तहमा पुर्‍याउन आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, जन्मदिनलाई सतकर्ममा जोडौँ अभियानका रौतहट संयोजक श्याम श्रेष्ठ, अग्रज पत्रकार मुकुन्द दाहाललगायत वृक्षरोपणको महत्वबारे धारणा राख्नुभएको थियो ।

त्यसअवसरमा रुद्राक्ष, पिपल, चन्दन, साल, खयर, बाँसलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button