तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन अभियान शुरु 

विराटनगर । स्थानीय तहका वडाबाट  राष्ट्रिय परिचयपत्र कार्ड वितरण तथा विवरण सङ्कलनका लागि मोरङ जिल्लामा अभियान  शुरु भएको छ  । विवरण सङ्कलन भइसेका वडामा पुगेर परिचयपत्र कार्ड वितरण गर्ने र छुटेकाहरूको विवरण सङ्कलनका लागि अभियान शुरु भएको हो । 

१७ वटा पालिका मध्ये पहिलो चरणमा रंगेली नगरपालिकाको सबै वडामा तथा महानगरपालिकाको एक नम्बर वडा देखि ८ नम्बरका सबै वडा र   ११ नम्बर वडामा परिचयपत्र कार्ड वितरण गर्न लागिएको हो ।

असार– ९ गते आइतबारबाट वडा स्तरमा टोली परिचालन भई कार्ड बक्स बुझाउने र पर्सी मङ्गलवार देखि विराटनगर महानगरपालिका र रंगेली नगरपालिकामा परिचयपत्र कार्ड वितरण शुरुहुने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । 

त्यसका लागि लागि सबै तयारी पुरा भएको र सो क्रममा दुवै पालिकामा छापिएर आएका  एक लाख कार्ड वितरण हुने प्रमुख जिल्ला अधिकारी  भट्टराईले बताउनुभयो । 

कार्यालयको समयमा  आधा समय परिचयपत्र कार्ड वितरण गर्ने र आधा समय विवरण सङ्कलन गर्ने गरि व्यवस्था मिलाइएको छ । अभियानमा अन्तर्गत खटिने  कर्मचारी तथा अपरेटरहरूलाई तालिम लिएर अभियान सञ्चालनका लागि वडा तहमा पुगी सकेका छन्  । सो कार्यमा ३० जना जनशक्ति परिचालन हुने छन् । परिचयपत्र लिनका लागि  बायोमेट्रिक अनिवार्य गरिएको छ । सो प्रणाली अनिवार्य गरिएकाले  परिचयपत्र कार्ड लिन कार्डमा नाम भएको व्यक्ति स्वयं उपस्थिति हुनुपर्ने छ ।

पालिका स्तरमा यो अभियान आउँदो मङ्गलवारबाट शुरु हुने भएपनि जिल्ला प्रशासन कार्यालयबाट भने परिचयपत्र कार्ड वितरण भइरहेको छ । विवरण सङ्कलन भएका १५ दिनमा कार्ड छापेर आउने भएकाले सो कार्यालयबाट दैनिक २ सय जनालाई कार्ड वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । 

पालिका स्तरमा  तिन महिनासम्म सञ्चालन हुने यो अभियान अन्तर्गत पहिलो चरणमा मोरङ जिल्लामा ४ लाख ६० हजार परिचय पत्र कार्ड वितरण गर्न लागिएको हो । आवश्यक परे अभियान एक महिना थप गर्न सकिने  जनाएको छ ।

नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत राष्ट्रिय परिचयपत्र बनाउनका लागि  २०७८ साल असोजदेखि जिल्लामा  विवरण सङ्कलन कार्य शुरु गरेको थियो  । त्यतिखेर टोलीले १७ वटै पालिकाका सबै वडामा पुगेर विवरण सङ्कलन गरेको थियो । सो अवधिमा ६ लाख ३० हजार विवरण सङ्कलन भएको थियो ।

विवरण सङ्कलन भएकाहरूको कार्ड छाप्ने कार्य भइरहेकाले आगामी ९ महिना भित्र मोरङमा सङ्कलित विवरण भएका सबैले परिचयपत्र कार्ड पाउने जनाइएको छ । मोरङको कुल १० लाख जनसङ्ख्या  मध्यै अझै २ लाखको विवरण सङ्कलन गर्न बाँकी रहेको अनुमान गरिएको छ । त्यसका लाग पनि विवरण सङ्कलन कार्य पुन सञ्चालन गर्न लागिएको हो । क्रमशः १७ वटै पालिकामा अभियान सञ्चालन हुने भएकाले विवरण सङ्कलन गर्न बाँकी  रहेकाहरूलाई सम्बन्धित वडामा गएर विवरण भर्न समेत उहाँले आग्रह गर्नुभयो । 

नेपाल सरकारले  सामाजिक सुरक्षा भत्ता वितरण प्रयोजनमा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा परिचयपत्र बनाउनेहरूको सेवाग्राहीको चाप बढेकोमा अहिले वडा स्तरमै विवरण सङ्कलन र परिचयपत्र वितरण गर्ने भएपछि सेवाग्राहीको चाप केही घटेको छ । 

आगामी साउन–१ गते देखि राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक प्रणालीमा सामाजिक सुरक्षा भत्ताका लाभग्राही सहभागी गराउने भएपछि सामाजिक सुरक्षाको दायरमा रहेकाहरू परिचयपत्र बनाउनेहरूको चाप बढेको हो ।   

परिचयपत्र वितरण प्रणालीको सिस्टममा आउने समस्याका कारण  समयमा फोटो खिच्न र विवरण भर्न नपाउँदा  सबभन्दा बढी अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिक तथा मजदुर वर्ग मारमा पर्ने गरेका थिए ।

राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालयमै जानुपर्ने बाध्यता भएकोमा अव वडा स्तरमै विवरण सङ्कलन हुने भएपछि अव धेरै सहज हुने सेवाग्राहीको भनाई छ । 

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई घरघरमै पुगेर राष्ट्रिय परिचय पत्र दिनका  लागि पुन वडा–वडामा विवरण सङ्कलन तथा वितरण टोली खटाउन लागिएको प्रजिअ भट्टराईले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button