तपाईँ सुन्दै हुनुहुन्छः

नारायणीले तटबन्ध भत्काएपछि बस्ती डुबानमा

नवलपरासी पश्चिम् । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध भत्काएर बस्तीमा पसेपछि बस्ती जलमग्न बनेको छ ।

तीव्र गतिको बहावले १ नम्बर ठोक्कर नजिकै रहेको तटबन्ध भत्काउँदा सैनिक टोलबाट बाढी बस्तीमा पसेको हो । बिहान थारु टोलबाट बस्ती पसेको बाढी अहिले तटबन्ध भत्काएर बस्तीमा छिरेपछि सुस्तामा जोखिम बढेको छ ।

सुस्तामा अहिले दुई सय घरमा बाढी पसेको छ भने बाँकी बस्ती पनि डुबानको उच्च जोखिममा रहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले जानकारी दिनुभयो। ‘म आफै डुबान क्षेत्रमै छु दिनभरी नै लगभग दुई सय घर जलमग्न छ, केही घरमै काठको अग्लो चाङ बनाएर बसेका छन्, कोही आश्रय स्थलमा छन् ।’ जैसवालले भन्नुभयो ।

केहीलाई पक्की घरको छतमा गएर बस्न भनिएको र सुरक्षा सतर्कता अपनाउन मस्जिदबाट माइकिङ समेत गरिएको जैसवालले बताउनुभयो ।अहिले सुस्ता स्थित झोलुङ्गे पुल नजिकैको सुस्ताघाट नजिकैको बाँध समेत फुट्ने अवस्था देखिएकाले थप सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

नारायणी नदीको गण्डक क्षेत्रमा पानीको सतह बढ्ने क्रममा रहेको छ। राती ९ बजेको मापन अनुसार गण्डक ब्यारेजमा ५ लाख ५७ हजार ७ सय ५० क्युसेक माथि पानीको बहाव रहेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button