तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाटको नीति : सुत्केरी बिदामा शिक्षक राखेर सट्टा भर्ना गरिने

नवलपरासी,पश्चिम्  । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयहरूमा शिक्षिका सुत्केरी बिदा बसेको अवस्थामा सो अवधि सम्मका लागि नयाँ शिक्षक नियुक्त गरी सट्टा भर्ना गर्ने नीति ल्याएको छ ।

शिक्षक नियुक्तिका गर्न नीति तथा कार्यक्रम मार्फत पारिश्रमिकका लागि आर्थिक बर्ष ०८१/८२ को बजेटमै सुनिश्चितता गरिएको नगरपालिकाले जनाएको छ ।सरकारले महिला कर्मचारीहरुकालागि ९८ दिन सुत्केरी बिदा दिने गरेको छ ।

कतिपय विद्यालयहरूमा महिला शिक्षक सुत्केरी हुँदा नियमित अध्यापन रोकिने र कतिपय अवस्थामा विषयगत शिक्षक नहुने अवस्था समेत रहने हुनाले पठनपाठनमा असहज हुने र अन्य शिक्षकहरूलाई भार पर्ने भएकाले यो कार्यक्रमलाई समेटिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।

“झण्डै तीन महिनाका लागि विद्यालयले शिक्षक नियुक्ति गर्न सक्नेछन्,अध्यापन नियमित हुँदा पठनपाठनमा समस्या नहुने र केही समयका लागि भएपनी शैक्षिक बेरोजगारहरू समेत आबद्ध हुन सक्ने हुँदा यसले दोहोरो फाइदा पुग्ने विश्वास लिएका छौँ”नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।

सम्बन्धित तहको सट्टा शिक्षक राख्दा विद्यालयहरूले दैनिक ज्यालादारीमा शिक्षक नियुक्त गर्न सक्ने शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनु भयो ।

सुत्केरी बिदामा बसेका शिक्षिका र कर्मचारीको सट्टामा काम गर्ने सट्टा शिक्षकलाई नगरपालिकाको  कोषबाट तलब व्यवस्था गरिएको छ।

बर्दघाट नगरपालिकाले चालू आर्थिक वर्षमा सबै भन्दा बढी बजेट शिक्षामा बिनियोजन गरेको छ ।चालू शैक्षिक सत्रलाई शैक्षिक सुधार वर्षको रुपमा अघि बढाइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button