तपाईँ सुन्दै हुनुहुन्छः

कमलले सजिएको कान्ति ताल (फोटो फिचर)

बाँके । बाँकेको नेपालगन्ज-२२ पुरैनीमा रहेको २५ बिघा क्षेत्रफलमा फैलिएको कान्ति तालमा कमल फुलेर घुम्न लायक बनेको छ । कान्ति ताल अहिले कमलका बोटले भरिभराउ छ ।

हरियो पात, पातमाथि उठेर फुलेका कमल देख्दा ताल मनमोहक देखिएको छ । कान्ति ताल कमलले ढाकिएको नागरिक अभियन्ता शिव कुमार बर्मा बताउनु हुन्छ । यो तालमा सुक्खा मौसममा पनि पानी रहने हुँदा जल आश्रित पन्छीको चहलपहल देख्न सकिन्छ ।

हुलाकी राजमार्गमा कान्तिताल अवस्थित रहेको छ । मधेशी र मुस्लिम बस्तीको बिचमा रहेको ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न र तालको सौन्दर्यीकरण गर्न जरुरी रहेको नागरिक अगुवाहरूको भनाई छ ।

कान्ति तालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ । विगत दुई वर्ष देखी सुरु गरिएको गणना अनुसार पहिलो वर्ष कान्ति तालमा २५ प्रजातिका चरा फेला परेका थिए । यस्तै दोस्रो वर्ष घटेर २२ प्रजातिका मात्रै चरा फेला परेका छन् । तालमा दुर्लभ पक्षी सारस, अन्य रैथाने चरा, विभिन्न प्रजातिका सरीसृप, दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ भ्याट) लगायतको वासस्थान रहेको छ । यहाँ गर्मी याममा युरोप, मध्य पूर्वी एसिया, इन्डोनेसियाबाट आएका चराले वासस्थान बनाउँछन् भने जाडो याममा साइबेरिया, उत्तरी चिन लगायत देशबाट चराहरू आउँछन् । बसाई सरेर आउने आगन्तुक चराले पनि तालमै बच्चा उत्पादन गर्ने गरेको नेपालगन्जका अभियन्ता डा. विनोद कर्णले बताउनुभयो ।

यस्तै दुर्लभ पक्षी सारसले पनि कान्ति ताललाई प्रजनन स्थल बनाउँदै आएको छ । ‘दुर्लभ सारसको प्रजनन स्थल पनि हो कान्ति ताल,’ कर्णले भन्नुभयो ‘कान्ति ताल सारसका लागि बाँके र बर्दियाकै राम्रो वासस्थान मानिन्छ ।’ उहाँका अनुसार सारसको वासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्ति ताल र मानखोला रहेको छ । तर, यी मध्ये सबैभन्दा राम्रो वासस्थान कान्ति ताल रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button