तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा ८ सय ७४ नयाँ कुष्ठरोगी, एक हजारभन्दा बढिले औषधि खाँदै 

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा ८ सय ७४ जना नयाँ कुष्ठरोगी फेला परेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयले ससाकावा फाउण्डेशन र नेपाल कुष्ठ रोग संस्थाको सहयोगमा आज जनकपुरधाममा आयोजना गरेको कुष्ठ रोग प्रभावकारी नियन्त्रण सम्बन्धि कार्यक्रममा निर्देशनालयका क्षय कुष्ठ रोग शाखाका प्रमुख राजवीर यादवले २०८०/०८१ मा उक्त सङ्ख्याका नयाँ रोगी फेला परेको जानकारी दिनु भएको हो । 

कुष्ठरोगको क्षेत्रमा औषधि सहितका विश्वमा नै कुष्ठरोगीको पुनर्स्थापना सहितको क्षेत्रमा समुदायमा सहयोग गर्दै आएको जापानको सासाकावा फाउण्डेशनको प्रतिनिधिहरुको सहभागितामा भएको सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै यादवले अहिले प्रदेशको सप्तरी बाहेक ७ जिल्लामा नयाँ र पुरानो गरेर १ हजार १० जना कुष्ठरोगीहरु स्वास्थ्यकर्मीको निगरानीमा औषधि नियमित रुपमा खाइरहेको जानकारी दिनुभयो ।  

नेपालमा २ हजार ५ सय २२ जना कुष्ठ रोगी रहेकोमा त्यसको ३७ प्रतिशत रोगी मधेश प्रदेशमा नै रहेका छन् । सामाजिक मान्यता तथा रुढीबाढीका कारणले धेरैले कुष्ठ रोग लुकाएर बसेका कारणले यो सङ्ख्या अझै बढी समुदायमा हुने अनुमान मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव कुमार झाको रहेको छ । खोजतलासको काम घर घरमा गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।  

प्रति १० हजार जनसङ्ख्यामा १ जना भन्दा कम कुष्ठरोगी भएपछि मात्र कुष्ठरोग उन्मूलन भएको मान्ने विश्व स्वास्थ्य सङ्गठनको गाइडलाइन रहेको छ । नेपालका ३४ जिल्ला पूर्ण रुपमा कुष्ठरोग उन्मूलन भएको जिल्ला भएपनि अन्य जिल्लाहरूमा रोगी रहेको पाइन्छ । 

कुष्ठरोग नियन्त्रणका लागि खोप हालसम्म नबनेपनि यसको औषधि रोगीले खाइसकेपछि सार्ने सम्भावना नभएकाले रोगको शङ्का लागेको खण्डमा तत्काल जाँच गरेर उपचारमा आउनका लागि मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. संजय कुमार ठाकुरले बताउनुभयो । 

कुष्ठरोग पूर्व जन्मको पाप, देवी देउताको श्राप नभई एक प्रकारको कीटाणुका कारणले सर्ने भएकाले औषधि खाएपछि निको हुने प्रमाणित हुँदै आएकाले उपचारामा आउनका लागि मन्त्रालयका सचिव डा. ठाकुरले सवैमा आग्रह पनि गर्नु भयो । 

कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले कुष्ठरोग, रोग नै भएकाले यसको उपचार गरेको खण्डमा निको हुने भएकाले कुष्ठ रोगको शङ्का लागेको खण्डमा स्वास्थ्य संस्थामा उपचारका लागि आउन आग्रह गर्नुभयो । उहाँले कुष्ठरोग प्रतिको नकारात्मक भावना चिर्नका लागि गाउँ गाउँमा जनचेतनामूलक प्रचार प्रसार गर्न जरुरी रहेको बताउनुभयो । 

कुष्ठरोगको निःशुल्क औषधि तथा समुदायमा कुष्ठरोगीको पुर्न स्थापनाको क्षेत्रमा सहयोग गर्दै आएका सासाकावा फाउन्डेसनका सदस्य डा. मोही सासाकावाले कुष्ठरोग लागेपछि उपचार गरेर निको हुने भएकाले समयमा औषधि खानका लागि सवैमा आग्रह गर्नु भयो । सो कार्यक्रममा मधेश प्रदेश भरिका स्वास्थ्य कार्यालय, प्रादेशिक अस्पताल, कुष्ठ तथा क्षयरोग हेर्ने शाखा तथा रोगबाट निको भएका व्यक्तिहरू सहभागी रहनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button