तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमणकालीन अवस्थामा संघ सङ्गठनलाई सक्रिय भूमिका खेल्न कार्यकारी निर्देशक लामाको आग्रह 

काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले सार्वजनिक सेवा प्रसारण विधेयक संसद्को दुवै सदनबाट पारित भइसकेको सन्दर्भमा सङ्क्रमणकालीन नियम-विनियम बनाउँदा सबै संघ-सङ्गठनको सक्रियता, रचनात्मक भूमिका र दायित्व रहनु पर्नेमा जोड दिनुभएको छ । 

आज रेडियो नेपालमा क्रियाशील संघ सङ्गठनहरूका पदाधिकारी तथा सदस्यहरूसँग संयुक्तरुपमा छलफल गर्नुहुँदै कार्यकारी निर्देशक लामाले आफुपनि ट्रेडयुनियनकर्मी भएकाले संघ सङ्गठनलाई दबाउने वा खारेज गर्ने भन्दा पनि संघ सङ्गठनले दिएको रचनात्मक सुझावलाई ग्रहण गर्ने बताउनुभयो । 

उहाँले व्यक्तिगत भन्दा पनि सामूहिक पद्धतिको विकास गर्न सबैलाई आग्रह गर्नु भयो । 

उहाँले परम्परागत नेतृत्व शैली भन्दा पनि आधुनिक र स्मार्ट बन्न ट्रेड युनियन नेतृत्वलाई आग्रह गर्दै तालिम, क्षमता अभिवृद्धि तथा अभिमुखीकरण  सम्बन्धी कार्ययोजना ल्याए व्यवस्थापनले सहयोग गर्ने प्रतिबद्धता  व्यक्त गर्नुभयो । 

व्यवस्थापनको नीति तथा निर्देशनलाई तल्लो तहसम्म पुर्‍याउने माध्यम ट्रेड युनियन भएकाले यसको छुट्टै पहिचान भएको भन्दै सामान्य कुरामा नअल्झिन आग्रह गर्नु भयो ।

कार्यकारी निर्देशक लामाले सामूहिक हितका विषयलाई साझा एजेन्डा बनाउन, र सार्वजनिक सेवा प्रसारण विधेयकमा ट्रेड युनियनको भूमिकामा बहस चलाउन पदाधिकारीहरूलाई आग्रह गर्नुभयो ।

ट्रेडयुनियलाई व्यवस्थापनले आफ्नो एक अङ्गको रुपमा मानेको हुँदा नीतिगत छलफलमा सँगसँगै लैजाने पनि उहाँले बताउनु भयो । 

छलफल कार्यक्रममा नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री, प्रशासन महाशाखा प्रमुख बद्रिविशाल तन्डुकार, आर्थिक महाशाखा प्रमुख मनोज कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।

 विभिन्न संघ सङ्गठनका अध्यक्षहरूले नवनियुक्त कार्यकारी निर्देशक लामालाई बधाई ज्ञापन गर्नुहुँदै व्यवस्थापनले संघ सङ्गठनलाई उच्च प्राथमिकता दिई संयुक्त बैठक आह्वानलाई ऐतिहासिक भएको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button