तपाईँ सुन्दै हुनुहुन्छः

“बालविवाहको नियन्त्रण विद्यालय तहबाट नै गर्न आवश्यक”  

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा सामाजिक विकृतिको रुपमा रहेको वाल विवाह नियन्त्रणकालागि विद्यालय तहबाट नै विशेष कडाइ गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको समन्वय तथा लाईफ नेपालको आयोजनामा बालविवाह मुक्त पालिका सम्बन्धि परामर्श बैठकमा सहभागीहरूले विद्यालयबाट नै बालविवाहको शुरुआत हुने भएकाले वाल विवाह न्यूनीकरणमा विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको महत्वपूर्ण भूमिका हुनेमा सहभागीहरूले जोड दिनुभएको हो ।

सहभागीहरूले अहिलेको खानपान, रहन सहन तथा सामाजिक सञ्जालमा देखिएको विकृतिका कारणले विद्यालयबाट नै भागेर विवाह गर्ने प्रवृत्ति बढ्नु चिन्ताको विषय भएको बताउँदै बालविवाह गर्ने तथा गराउने दुवै पक्ष कानूनी रुपमा दोषी हुने भएकाले बालविवाह न्यूनीकरणका लागि नियन्त्रण, प्रवर्द्धनात्मक तथा दण्डात्मक नीति कडाइका साथ कार्यान्वयन गर्न आवश्यक भएको बताउनु भयो ।

परामर्श बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले विद्यालय तहबाट नै वाल विवाह नियन्त्रणका लागि विशेष कार्यक्रम गर्न आवश्यक भएको बताउँदै बालविवाहका कारणले बालबालिकाको शिक्षा, रोजगारी तथा स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले यसलाई नियन्त्रण गर्न उपमहानगरपालिका तयार भएको बताउनु भयो ।

उहाँले अशिक्षा, गरिबी तथा पछौटेपनाका कारणले बालविवाह हुने गरेको भएपनि पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोगले बालविवाह बढेको दाबी पनि गर्नु भयो ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँले बालविवाह कानूनी रुपमा दण्डनीय हुनुका साथै सामाजिक अपराध भएकाले यसको नियन्त्रणका लागि सबै पक्ष तथा निकायहरू लाग्न आवश्यक भएको बताउनु भयो ।

उहाँले स्थानीय तहले बालविवाह गर्नेहरूलाई कुनै प्रकारको सिफारिस नगरेको खण्डमा बालविवाहको प्रभावकारी नियन्त्रण हुने र यसबाट नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त देश बनाउने अभियान सफल हुने बताउनु भयो ।

मिथिला नगरपालिकाका उपप्रमुख सुनिता सिंह बुढाथोकीले मिथिला नगरपालिकालाई बालविवाह मुक्त नगर बनाउनका लागि आफूले सबै प्रकारको प्रयास गर्ने बताउनु भयो । कार्यक्रममा मधेश प्रदेशमा बालविवाहको अवस्था र सरकारको प्रयासको विषयमा खेलकुद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देव कुमार खत्री तथा बालविवाह न्यूनीकरणका विषयमा प्रदेश प्रहरी कार्यालयका प्रतिनिधिले जानकारी सहितको कार्यपत्र प्रस्तुति गर्नु भएको थियो ।

धनुषा जिल्लाको ८ वटा पालिकामा बालविवाह न्यूनीकरणका लागि लाईफ नेपालले वालिका केन्द्रित गरेर विशेष कार्यक्रम गरेको लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनु भयो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका, मिथिला, मिथिला विहारी, क्षिरेश्वरनाथ, धनुषाधाम, सवैला, यदुकोहा र लक्ष्मीनिया गाउँपालिकामा बालविवाह न्यूनीकरण अभियान लाइफले दुई वर्षसम्म सञ्चालन गर्ने भएको छ ।

बैठकमा सबै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहितको सहभागिता रहेका थिए । अहिले २० वर्ष नपुग्दै बालविवाह गर्नेको सङ्ख्या ४२ प्रतिशत रहेको छ ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button