तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती सोनारीमा खसीबोका बिक्रीबाट डेढ करोड बढी आम्दानी

बाँके । व्यावसायिक रूपमा बाख्रापालन हुन थालेपछि बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट खसीबोका निकासी हुने क्रम बढेको छ  ।

राप्ती सोनारी गाउँपालिका–६ टेपरीमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ मा एक करोड ८१ लाख ३ हजार ८ सय ९ रुपैयाँको खसीबोका बिक्री गरेर आर्थिक कारोबार गरेको जनाएको छ ।

सहकारीकी प्रबन्धक दिव्य गुरुङले भन्नुभयो ‘गत आर्थिक वर्षमा ३१ हजार ७ सय १० किलोग्राम तौल बराबरका १ हजार १७ वटा खसीबोका बिक्री भएका थिए । जुन बिक्रीबाट एक करोड ८१ लाख ३ हजार ८ सय ९ रुपियाँ बराबरको आर्थिक कारोबार भएको हो ।’

उहाँका अनुसार सोही आर्थिक वर्षमा १ हजार ३० किलोग्राम बराबरका ७३ वटा ब्याड बाख्रा पनि बिक्री भएको थियो भने बाख्रा बिक्रीबाट तीन लाख ५५ हजार ३ सय ५० रुपियाँ आम्दानी भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा खसीबोका बिक्रीबाट एक करोड ३० लाख ७५ हजार ७ सय ८ रुपियाँ बराबरको आर्थिक कारोबार भएको गुरुङको भनाई थियो ।

आर्थिक वर्ष २०७९/८० मा कार्यालयको तथ्याङ्क अनुसार १ करोड ३० लाख ७५ हजार मूल्य बराबरको खसीबोका निकासी भएकोमा आव २०८०/८१ मा खसीबोका निकासीको दर बढेको गुरुङको भनाइ छ । सहकारीकी अध्यक्ष कमला चौधरीले भन्नुभयो, ‘सहकारी संस्थामार्फत ५९ वटा समूह गठन गरिएको छ । सहकारीले गठन गरिएका समूहका किसानहरूबाट खसीबोका तथा बाख्रा खरिद गर्दै आएका छौ ।’ सहकारीमार्फत गठन गरिएका ५९ वटा समूहका किसानलाई सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि सहुलियतमा ऋण समेत उपलब्ध गराउँदै आएको अध्यक्ष चौधरीले बताउनुभयो ।

सहकारीका अध्यक्ष कमला चौधरीले कृषकलाई सजिलोका लागि सहकारीले बजारीकरणको व्यवस्था मिलाउँदै आएको जानकारी दिनुभयो । गाउँपालिकाले खसीको उत्पादन बिक्रीमा अनुदान दिएपछि यहाँका कृषक बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

हाल सहकारी आबद्ध किसानसँग ५२५ रुपियाँ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र १० देखि १५ रुपियाँ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button