तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको ग्रामीण क्षेत्रमा डेङ्गी संक्रमण तीव्र रुपमा फैलिँदै

वीरगञ्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा डेङ्गी संक्रमण तीव्र रूपमा फैलिरहेको छ । 

विशेषगरी पोखरिया नगरपालिका र आसपासका क्षेत्रमा विगत केही दिनदेखि डेङ्गीका बिरामीको सङ्ख्या बढ्न थालेको छ । 

पोखरिया जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अनिल यादवका अनुसार अस्पतालमा दैनिक एक/दुई जना बिरामीमा डेङ्गीको संक्रमण पुष्टि हुँदै आएको छ । डा. यादवले अस्पतालमा दैनिक करिब २ सय बिरामीहरूको चेकजाँच भइरहेको जानकारी दिनुभयो । 

जसमध्ये एकाध बिरामीमा डेङ्गीको लक्षण फेला परेको छ । रगत परीक्षण गर्दा डेङ्गी संक्रमण देखिएका बिरामीहरूलाई तत्काल आवश्यक उपचार गराइरहेको अस्पतालले जनाएको छ । हालसम्मको तथ्यांकअनुसार, एक हप्ताको अवधिमा पोखरिया अस्पतालमा पाँच जना बिरामीमा डेङ्गीको संक्रमण पुष्टि भएको छ । 

ज्वरोका बिरामीहरूको चेकजाँच गर्दा डेङ्गीका केसहरू थप देखिँदै गएको अस्पताल प्रशासनले जनाएको छ । 

ग्रामीण क्षेत्रमा सरसफाइको कमीको कारण डेङ्गी संक्रमण बढ्दै जाँदा स्वास्थ्यमा गम्भीर चुनौती देखिएको छ ।

एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भई सर्ने डेङ्गी रोगको लागि तत्काल रोकथामका उपायहरू अपनाउनुपर्ने डा. यादवले सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button