तपाईँ सुन्दै हुनुहुन्छः

एसइईको नतिजा असार १४ गतेभित्र प्रकाशन गर्ने तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यो साताभित्रमा प्रकाशन गर्ने तयारी गरेको छ ।

बोर्ड अन्तरगत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको बताउनुभयो ।

केही समस्या नभए १४ गतेभित्र नतिजा प्रकाशन हुने उहाँले बताउनुभयो । परीक्षा नियन्त्रक पौडेलले उत्तर पुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टि गरेर रुजु गर्ने र प्रोसेसिङको काम बाँकी रहेको बताउँदै २ दिन जति प्रोसेसिङका लागि लाग्ने बताउनुभयो ।

यो काम टुङ्गिएपछि सिस्टममा इन्ट्री गर्ने हो भन्दै उहाँले त्यो बेलासम्म सबै कोडिङ हुने र करिब करिब ३,४ दिनको हाराहारीमा सबै टुङ्गो लगाउने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका ९९ जना कर्मचारीबाट प्राप्ताङ्कलाई रुजु गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक पौडेलले प्राप्ताङ्क रुजु गर्ने काम सकिएपछि फेरि अन्तिम पटक रुजु गरिने र अन्तिम रुजु पनि सकिएपछि बोर्डको बैठक बसेर नतिजा प्रकाशन गरिने बताउनुभयो  ।

बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागिएको जनाएको छ ।

नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने उल्लेख छ ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । नन ग्रेडेड आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न नपाउने र दुई विषयसम्म पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्ने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत चैतमा सञ्चालन भएको परीक्षामा सहभागी हुन ५ लाख ४ हजार विद्यार्थीले फाराम भरे पनि ४ लाख ७० हजार जतिले मात्रै परीक्षा दिएका छन् ।

लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यो पटक परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो ।

यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो ।

३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र दुई विषयसम्म पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button