तपाईँ सुन्दै हुनुहुन्छः

एसईईको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।नतिजा अनुसार १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् । परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उहाँले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिनुभयो ।

आज बिहान बिहान बोर्डको बैठकले निर्णय गरेपछि एसईईको नतिजा प्रकाशित गरिएको  पौडेलले जानकारी दिनुभयाे। उहाँका अनुसार यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिनेछ।  आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्नेछ। 

प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक भएकाे हाे  ।

परीक्षाफल www.see.gov.np , www.neb.gov.np , www.see.ntc.net.np लगायतका वेवसाइटमा हेर्न सकिन्छ। नेपाल टेलिकमको १६०० मा कल गरेर सुन्न सकिन्छ भने एसएमएस गर्दा SEE <space> SYMBOL NUMBER (उदाहरणका लागि,  SEE 1234567A ) टाइप गरेर १६०० मा पठाउन सकिन्छ। 

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन गरिएकाे बोर्डले जनाएकाे छ ।

उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।

निर्देशिकामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन् । उक्त पद्धतिअनुसार गत वर्षदेखि नै कक्षा १२ को नतिजा सार्वजनिक हुँदै आएको छ । 

ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् । यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको प्राप्तांक जोडेर ३५ अंक ल्याए पनि विद्यार्थी ग्रेडसिट प्राप्त गर्थे । अबदेखि सैद्धान्तिक र प्रयोगात्मकको छुट्टाछुट्टै ग्रेडिङ हुने व्यवस्था गरिएको हो । नयाँ पाठ्यक्रमले गणितसहितका प्रत्येक विषयमा २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा हुने र बाँकी ७५ पूर्णाङ्कको सैद्धान्तिक परीक्षा हुने व्यवस्था गरेको हो । प्रयोगात्मक परीक्षा विद्यालयले नै सञ्चालन गरेर प्राप्तांक बोर्डमा पठाउछन्ए  । बोर्डले अंकलाई ग्रेडमा रूपान्तरण गरेर नतिजा सार्वजनिक गरेकाे हाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button