तपाईँ सुन्दै हुनुहुन्छः

‘आमनागरिक सम्म सूचना प्रवाहका लागि रेडियो सहज माध्यम’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले आमनागरिक सम्म सूचना प्रवाहका लागि रेडियो सहज माध्यम भएकाले रेडियोको विकल्प नभएको बताउनुभएको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र रेडियो नेपालको सहकार्यमा आज काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा सचिव सुबेदीले आधिकारिक माध्यमको मापकका रुपमा रहेको रेडियो नेपालले अबका दिनमा सबै पुस्ताका श्रोताको अभिरुचिका आधारमा कार्यक्रम प्रसारण गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका सञ्चार सचिव सुवेदीले सार्वजनिक प्रसारण माध्यमका रुपमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रूपान्तरित गर्ने गृहकार्य संसद्को समितिमा चलिरहेको र अब छिट्टै नै यी दुवै संस्था सार्वजनिक प्रसारण सेवा प्रदायक संस्थाका रुपमा रूपान्तरित हुने बताउनुभयो ।

सञ्चार सचिव सुवेदीले रेडियो नेपालले विभिन्न जातजाती र भाषाभाषीलाई स्थान दिइरहेकोमा त्यसको प्रशंसा गर्दै रेडियो नेपालको साथमा सरकार रहेको पनि बताउनुभयो ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईले रेडियो नेपालको सान्दर्भिकता सदैव उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै रेडियो नेपालमार्फत मन्त्रालयले आम जनमानसमा कानुनका कुरा प्रसारण गर्दै आएको बताउनुभयो ।

सहसचिव भट्टराईले मन्त्रालय र रेडियो नेपाल बीचको यो यात्रा आगामी दिनमा पनि निरन्तर जारी रहने बताउनुभयो ।

त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले जनताका अभिरुचिका कुरालाई ध्यानमा राख्दै विविध किसिमका जानकारीमूलक, मनोरञ्जनात्मक तथा सूचनामूलक सामग्रीहरु प्रसारण र रेडियो नेपालको अनलाइनमा पठनीय सामग्रीका रुपमा पनि प्रेषण गर्दै आएको बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपाल नयाँ प्रविधिको विकाससँगै कार्यक्रम तथा समाचारहरू सहज रुपमा प्रवाहित गर्न अनलाइन र रेडियो नेपाल एपमार्फत सहज रुपमा श्रोता माझ पुग्ने गरी स्थापित भएको पनि बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्र भूषण लाल दासले प्रसारण पहुँच विस्तार र श्रोताका रुचिका विषयलाई रेडियो नेपालले आगामी दिनमा अझ बढी समावेश गर्दै अगाडि बढ्ने बताउनुभयो ।

यस्तै, रेडियो नेपालका उपनिर्देशक पुस्कर बरालले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै सबैका रुचि र मागलाई ध्यानमा राखेर रेडियो नेपाल अहिले पनि सार्वजनिक प्रसारण सेवाका रुपमा काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button