तपाईँ सुन्दै हुनुहुन्छः

साझा नीतिका साथ सबै राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशको भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिई साझा नीतिका साथ सबै राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

स्वर्गीय प्राध्यापक घटराज भट्टद्वारा लिखित बालचन्द्र शर्मा व्यक्तित्व र साधना पुस्तकको परिमार्जित संस्करणको आज काठमाडाँैमा विमोचन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक शक्तिहरू विभाजित हुँदा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रभाव र कूटनीतिक क्षमता कमजोर हुने भएकाले एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले साहित्यकार एवं पूर्व राजदूत स्वर्गीय बालचन्द्र शर्माले नेपाली इतिहासको खोज–अनुसन्धान, साहित्य सिर्जना र कूटनीतिको माध्यमबाट नेपाललाई विश्व मञ्चमा चिनाउन महत्वपूर्ण योगदान पु¥याउनुभएको पनि त्यस अवसरमा स्मरण गर्नुभयो ।

पुस्तक विमोचन कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका सह–प्राध्यापक डा. सुधांशु दाहालले स्वर्गीय बालचन्द्र शर्माका पुस्तकहरू राजनीतिक चेत र जीवनदर्शनले भरिपूर्ण रहेका हुनाले नेपालको इतिहास र साहित्यमा रुचि राख्ने सबैका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका महासचिव विनोद भट्टराई, पुस्तकका लेखक प्राध्यापक घटराज भट्टराईकी छोरी साधना दाहाल, सञ्चारकर्मी टंक पन्त लगायतले स्वर्गीय बालचन्द्र शर्माले इतिहास र साहित्य लेखनबाट राष्ट्रिय भावनालाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएको चर्चा गर्नुभयो ।

स्वर्गीय साहित्यकार तथा प्राध्यापक घटराज भट्टले लेख्नुभएको सो पुस्तक बालचन्द्र स्मृति सभा र जनविचार पब्लिकेसनले परिमार्जित रुपमा पुनः प्रकाशन गरेको हो ।

तस्बिर : मुकुन्द कालिकोटे

प्रतिक्रिया राख्नुहोस्

Back to top button