तपाईँ सुन्दै हुनुहुन्छः

छाडा चौपाया व्यवस्थापनलाई उत्पादनसँग जोड्छौँ: महासचिव विप्लव

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले छाडा चौपाया व्यवस्थापनलाई उत्पादनसँग जोड्ने बताउनुभएको छ । उत्पादनमूलक क्षेत्रमा लगानी गरी किसानलाई अन्नबाली, तरकारी लगायत उत्पादनसँग जोड्न सरकारले लगानी गर्नुपर्ने बताउनु भएको हो । 

कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित शिव गढीमा आयोजित चौपाया नियन्त्रण तथा व्यवस्थापन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो । महासचिव विप्लवले समाज परिवर्तनको लागि हिँडेका युवाहरूको समूहले छाडा चौपाया व्यवस्थापन गरेर नौलो काम गरेको उहाँले बताउनुभयो । 

पछिल्लो समय छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा किसान मर्कामा पर्ने गरेको विप्लवले बताउनुभयो । युवा पुस्ता वैदेशिक रोजगारीमा प्लायन भइरहेको बखत स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्ने हेतुले चौपाया व्यवस्थापनमा लागेको उहाँले बताउनुभयो । ठूलाठूला सपना बाँड्नुभन्दा ग्रास रुटका नागरिकलाई सेवा गरि सभ्य समाज निर्माणमा योगदान पुग्ने विप्लवले जोड्दिनुभयो ।

यसैबीच शिवराज नगरपालिकाका मेयर अजय थापाले मेयर थापाले अब किसानहरू रातभर जाग्राम बस्न नपर्ने बाध्यता हटेको बताउनुभयो । “छाडा छाडिएको गाई गोरुको व्यवस्थापन गर्न सुरु गरेका छौँ”, उहाँले भन्नुभयो ः “सुन्दर नगर बनाउन नगरवासीले पालेका गाई गोरु पनि अबदेखि छाडा नछाड्नेमा हामी विश्वस्त छौँ ।” 

प्रशासकीय अधिकृत बाबुराम पौडेलले छाडा चौपायालाई निःशुल्क उपचार गर्ने बताउनुभयो । व्यवस्थापन पछि दुर्घटना न्यूनीकरण कम हुने पौडेलको भनाई छ । जनश्रम कृषि सहकारीले छाडा चौपाया व्यवस्थापन गर्ने जिम्मा पाएको छ । छाडा चौपाया बस्नको लागि ट्रस, तारजाली, पानी, पराल लगायतको व्यवस्था गरिएको सहकारीले जनाएको छ । शिवराज नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, ९ नम्बरका वडा अध्यक्ष राम गोपाल थारु, नेकपाका केन्द्रीय सदस्य सफल सी लगायतले बुधबार भएको कार्यालयलाई सम्बोधन गर्नुभएकाे थियो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button