तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।

यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।

महाधिवेशनका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्ताबेज तयार भइसकेको जानकारी दिनुभयो । ती दस्ताबेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिनुभयो । उहाँले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नुभयो । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button