तपाईँ सुन्दै हुनुहुन्छः

इरानी राष्ट्रपति निर्वाचनको नतिजालाई मान्यता प्राप्त

इरानको संवैधानिक परिषद्ले आइतबार देशको १४औँ राष्ट्रपति निर्वाचनको पहिलो चरणको नतिजालाई मान्यता दिएको छ ।

निर्वाचनको प्रक्रिया र नतिजा हेर्ने संस्था काउन्सिलका प्रवक्ता हादी ताहान नाजिफले सरकारी आईआरआईबी टिभीलाई दिएको एक टेलिभिजन अन्तर्वार्तामा उक्त घोषणा गर्नुभएको हो । 

उहाँले अनुसन्धान र समीक्षापछि संस्थाले नतिजा पुष्टि गरेको बताउनुभयो । 

पहिलो चरणको निर्वाचनमा भाग लिने चार उम्मेदवारमध्ये कसैले पनि उजुरी दिने कानुनी समयावधिमा निर्वाचन परिणाममा कुनै आपत्ति नजनाएको बताउँदै उहाँले बिहीबार बिहानसम्म वा निर्वाचन सुरु हुनुभन्दा २४ घण्टाअघिसम्म निर्वाचन अभियान सञ्चालन गर्न सकिने जानकारी दिनुभयो । तीन पटकसम्म लम्ब्याइएको मध्यावधि राष्ट्रपतीय निर्वाचनका लागि शुक्रबार बिहानैदेखि सुरु भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले विजयी घोषणाका लागि आवश्यक पर्ने कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेका थिएनन् । 

पहिलो चरणमा पूर्व स्वास्थ्यमन्त्री सुधारवादी मसूद पेजेस्कियानले ४२ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको थियो भने तेहरान र विश्व शक्तिराष्ट्रबीचको आणविक वार्ताका पूर्व प्रमुख वार्ताकार सइद जलिलीले ३८ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी, सभामुखबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिनुभएका मोहम्मद बघेर गालिबाफले १३।८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने अर्का उम्मेदवार मुस्तफा पौरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गर्नुभएको थियो । 

जुलाई ५ मा हुने दोस्रो चरणको प्रतिस्पर्धामा पहिलो चरणमा बढी बत ल्याएका दुई प्रतिस्पर्धी पेजेस्कियान र जलिलीबाच प्रतिस्पर्धा हुनेछ ।

सन् २०२५ का लागि तय भएको राष्ट्रपतीय निर्वाचन इरानका पूर्व राष्ट्रपति इब्राहिम राइसीको मे १९ मा हेलिकप्टर दुर्घटनामा अप्रत्याशित निधन भएपछि सारिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button