तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन बारेका चर्चा असत्य हुन् : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्ता गठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताउनुभएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पार्नुभएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथ बारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रुपमा आइरहेका बताउनुभयो ।

“गठबन्धनका दलबीच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन”, उहाँले भन्नुभयो, “गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।”

मन्त्री शर्माले प्रधानमन्त्री दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक रहेको बताउनुभयो ।

यस्तै आजको मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट मानव संसाधन विकासका लागि छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने जापानी ऐन ४ सय ५४ मिलियन करिब ३८ करोड २२ लाख बरावरको अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्री शर्माले धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button