तपाईँ सुन्दै हुनुहुन्छः

टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा नमिलेका विषयमा सहमति खोज्न गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ ।

सिंहदरबारमा आज बसेको कार्यदलको पहिलो बैठकले विधेयकमा विमतिका विषयबारे सहमति जुटाउन छलफल अगाडि बढाएको कार्यदलका सदस्य महेश वर्तौलाले जानकारी दिनुभयो । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल भएको उहाँले बताउनुभयो । “विधेयकमा सहमति जुटाउने गरी छलफल सुरु गरेका छौँ । आज विशेषगरी मानवअधिकारको गम्भीर उल्लङ्घन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा भएका घटना र प्रभावित व्यक्ति तथा महान्यायाधीवक्ताले गम्भीर मानवअधिकार उल्लङ्घनका विषयमा गर्ने मागदाबीलगायत चार विषयमा सहमतिमा छलफल भएको हो । चाँडै असहमतिका विषयलाई निष्कर्षमा पुर्याउर्छौँ”, वर्तौलाले भन्नुभयो ।

कार्यदल सदस्य रमेश लेखकले टिआरसी विधेयकमा सहमति जुटाउन बैठकमा सकारात्मक छलफल भएको बताउनुभयो । अर्का सदस्य जनार्दन शर्माले आजको छलफल सकारात्मक ढङ्गले अगाडि बढेकाले चाँडै असहमतिबारे चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा नमिलेका विषयमा सहमतिका लागि केही दिनअघि सहजीकरण कार्यदल गठन गरिएको थियो । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताको सहमतिमा कार्यदल गठन गरिएको हो । कार्यदलमा काँग्रेसबाट लेखक, एमालेबाट बर्तौला र माओवादीबाट शर्मा सदस्य हुनुहुन्छ । कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका चार बुँदामा छलफल गरी साझा धारणा बनाउने छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button