तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाललाई चिनाउन टुरिष्ट गाइडको भूमिका महत्वपूर्ण’

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपाललाई विश्वमाझ चिनाउन टुरिष्ट गाइडको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को आयोजनामा आज सुरु भएको ‘आठौँ राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’को उद्घाटन गर्दै उहाँले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाका बारेमा विश्वमाझ चिनाउन टुरिष्ट गाइडको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो ।

“पर्यटकमाझ नेपालका बारेमा टुरिष्ट गाइडले जे वर्णन गर्छन्, त्यो नै पर्यटकका लागि वास्तविक साबित हुने भएकाले टुरिष्ट गाइडको भूमिका महत्वपूर्ण छ,” उहाँले भन्नुभयो । मन्त्री तामाङले टुरिष्ट गाइडलाई समयानुसार तालिम प्रदान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)का अध्यक्ष थानेश्वर देवकोटाले सम्पदा क्षेत्रमा हुने अनधिकृत गाइड रोक्न पर्यटक प्रहरी र सम्पदा क्षेत्रका कर्मचारीले स्वचालित तथा नियमित लाइसेन्स चेकजाँचको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले राज्यका विदेशी पाहुनालाई टुरिष्ट गाइडबाट सम्पदा क्षेत्रको अवलोकन गर्ने परिपाटीको विकास गर्नुपर्ने बताउनुभयो । टुर्गानले नेपाल सरकार तथा पर्यटन बोर्डबाट देश तथा विदेशमा हुने पर्यटन प्रवद्र्धनका कार्यक्रममा टुर्गानलाई समेट्नुपर्ने बताएको छ ।

अध्यक्ष देवकोटाले सांस्कृतिक राजदूतका रुपमा रहेका टुरिष्ट गाइडलाई सरकारले एक अभिन्न अङ्गका रुपमा स्वीकार गरी सोहीअनुरुप उनीहरुलाई नियमित पुनर्ताजगी, तालिम, उपयुक्त अवसर र व्यावसायिक हकको ‘ग्यारेन्टी’ गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button