तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलका दुई फेन्सी पसलमा आगलागी हुँदा करिब डेढ करोडको क्षति

रुपन्देही। बुटवलको संगमपथमा गएराती दुई फेन्सी पसलमा भएको आगलागीबाट करिब डेढ करोडको क्षति भएको छ ।

संगमपथस्थित बुटवल उद्योग वाणिज्य सङ्घको भवनमा रहेको ज्ञवाली गिफ्ट पसल र जी फेन्सी स्टोरमा भएको आगलागीबाट १ करोड ४० लाखभन्दा बढीको क्षति भएको जी फेन्सी स्टोरका सञ्चालक शङ्कर ज्ञवालीले जानकारी दिनुभयो।

उहाँका अनुसार जी फेन्सी स्टोरको मात्रै १ करोड १० लाख बढीको क्षति भएको छ । त्यस्तै ज्ञवाली गिफ्ट पसलको ३० लाखभन्दा बढी क्षति भएको छ ।

गएराती करिब २ बजेको समयमा ज्ञवाली गिफ्ट पसलबाट सुरु भएको आगलागीका कारण सँगै रहेको जी फेन्सी स्टोर समेत जलेर पूर्णरुपमा क्षति भएको छ ।
तत्काल स्थानीय, प्रहरी तथा बुटवल उपमहानगरपालिकाको दमकलको सहायताले करिब २ घण्टामा आगो नियन्त्रणमा लिइएको भए पनि आगलागी भएको दुई पसलमा पूर्ण रुपमा क्षति भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयो।

के कति कारणले आगलागी भयो यकिन नभएपनि विद्युत् सर्किट सट भएको हुनसक्ने अनुमान गरिएको छ ।

पसलमा भएको आगलागी नियन्त्रण हुन नसकेको भए त्यसबाट ठूलो क्षति व्यहोर्नुपर्ने स्थानीय समेत रहेका बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनुभयो।

सङ्घको भवनमा रहेका पसलमा आगलागी भएपछि आकस्मिक रुपमा बसेको संघका पूर्व अध्यक्षसहितको कार्यसमिति बैठकले आगलागीका सम्बन्धमा अध्ययन समिति गठन गरिएको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगलागीको विषयमा अध्ययन गरी राय सुझाव दिनको लागि वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिको सदस्यमा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई रहेका छन् ।

त्यस्तैगरी आगलागी भएका सटरलाई मर्मत सम्भार गरी तत्काल ती व्यवसायलाई पुनः स्थापित गर्ने वातावरण मिलाउन संघका महासचिव मुक्तिप्रसाद अधिकारीको संयोजकत्वमा कोषाध्यक्ष बसन्तप्रसाद ढकाल र सचिव प्रतिक पोखरेल सदस्य रहेको समिति गठन गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button