तपाईँ सुन्दै हुनुहुन्छः

पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग 

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग गरिएको छ । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिद्वारा गठन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमन उपसमितिको एक टोलीसँग सोमबार पोखराका क्षेत्रका पर्यटन व्यवसायी यहाँको निजी क्षेत्र, प्रदेश, स्थानीय सरकार र स्थानीय सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरू बिच भएको छलफल कार्यक्रममा सहभागीहरूले पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग गर्नु भएको हो । 

सकेसम्म मित्र राष्ट्र भारत र चीनबाट हवाई उडान सञ्चालन गर्न माग गर्दै पोखरेलीहरूले अन्यथा पहिलो चरणमा नेपाली राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलायन्सबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग गर्नु भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ वर्षमा पनि व्यवसायीक रुपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन नसकेकोमा गुनासो गर्दै पोखरेलीहरूले यसबाट पोखरा क्षेत्र र गण्डकी प्रदेश समेत पछि परेकोले गुनासो गर्नु भएको हो । 

उक्त विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितताको भएको विषय चर्चामा आएसँगै उक्त विषयमा अध्ययनको लागि एक टोली अध्ययन तथा अवलोकन सहित प्रतिवेदन तयार गर्न उपसमितिका संयोजक राजेन्द्र लिङ्देनको संयोजकत्वमा एक टोली आइतबार पोखरा आउनु भएको हो । उक्त विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचारको सत्यतथ्य सार्वजनिक गर्दै दोषी उपर कडा भन्दा कडा कारबाही गर्न पोखरेलीले माग गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताउनु भयो । 

डिपिआर बन्नु पूर्व गहन छलफल विना पर्यटन मन्त्रालय र चाइनाको सीएमसी कम्पनीसँग उक्त परियोजनाको सम्झौता हुनु नै विमानस्थलमा अनियमितताको सुरुवात त्यहीबाट भएको उहाँले दाबी गर्नु भयो । उक्त परियोजना ईपिसि मोडलमा स्वीकृत भएको तर त्यसको बारेमा गहन अध्ययन नभएको पूर्व अध्यक्ष मुल्मीले बताउनु भयो । ३ सय ५ मिलियन डलरबाट २ सय १५.९६ मिलियन डलरसम्म कसरी घट्न सक्यो अर्को रहस्य भएको उहाँको भनाई छ । 

त्यसै गरी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको पोखरा शहर अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटनको लागी परिचित प्रमुख गन्तव्य भएकोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट नियमित अन्तर्राष्ट्रिय उडान राष्ट्रिय ध्वजावाहक जहाज नेपाल एयरलाइन्सवाट शुरुवात गर्नुपर्ने जोडदार माग गर्नु भयो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न नेपाल वाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेका हवाई प्रदायक कम्पनीहरूलाई आवश्यक प्याकेजको व्यवस्था गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वाट उडान गर्न प्रेरित गर्नुपर्ने माग सहित परिषद्ले ७ बुँदे माग पत्र उपसमितिका संयोजक लिङ्देनलाई बुझाउनु भएको छ । त्यसै गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक नीति, नियमहरू सहजिकरण गर्न, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट छिमेकी देशहरू भारत र चीनका मुख्य शहर हरुमा उडान गर्न राष्ट्रिय स्तरका हवाई कम्पनीहरूलाई अनुमति प्रदान गर्न, आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरूलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देश भित्रका मुख्य शहरहरुमा सिधा उडान भर्नु अनिवार्य गर्नुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी १६०० मिटर हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी ३७०० मिटर हुन् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनुको मुख्य कारण हो ? यस विषयमा अध्ययन समितिको ध्यानाकर्षण गराउन गराएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका हवाई कम्पनीहरू लाई कम्तीमा पनि हप्तामा दुई वटा फ्लाईट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सरकारले अनिवार्य रुपमा उडान गर्ने पर्ने गरी बाध्यकारी बनाउन परिषद्ले माग गरेको छ । 

कार्यक्रममा गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा विमानस्थलको विषयमा आफूहरूले पनि उत्तर दिन नसक्ने अवस्थामा रहेको गुनासो गर्दै पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग गर्नु भयो । पोखराका मेयर धनराज आचार्यले पटक पटक विभिन्न छानविन समितिहरू गठन भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो भएको बताउँदै, पोखरामा भएको विमानस्थलमा हाल दैनिक जसो ५ हजार जना पर्यटक ओहोर दोहोर गर्ने गरेको दाबी गर्नु भयो ।  

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष विश्वशंकर पालिखेले ठुलो लगानीमा निर्माण भएको उक्त संरचनालाई दिगो रुपमा सञ्चालन गर्ने विषयमा नेपाल हवाई उड्डयन प्राधिकरण –क्यान) चुकेको दाबी गर्नु भयो । पोखरा विमानस्थलको ६ मिटर उचाई घटाउनु अनियमितता भएको उहाँको दाबी थियो ।  

कार्यक्रममा पोखराका व्यवसायी अशोक पालिखेले भुटानले पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान गर्न चाहेर पनि किन रोकिएको हो भनी प्रश्न गर्दै विमानस्थल निर्माणमा दोषी उपर कारबाही गर्न माग गर्न माग गर्नु भयो । 

उक्त विमानस्थल निर्माण सम्पन्न भई हाल सञ्चालनमा आएको डेढ बर्ष पछि आर्थिक अनियमितताको छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले हाल चासो देखाउँदै अध्ययन गर्न पोखरा आएको हो । असार १३ गते राजेन्द्र लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे महालेखापरीक्षकको कार्यालयले पनि कैफियत देखाएको छ भने अख्तियारले समेत यस अघि छापा मारी अध्ययन गर्दै गरेको अवस्था रहेको छ । महालेखाले आफ्नो ६१ औँ प्रतिवेदनमा विमानस्थलमा रहेको समस्या हटाएर अन्तर्राष्ट्रिय उडान गर्न सुझाव दिएको छ ।

उक्त विमानस्थलको बारेमा सम्बन्धित निकायसँग आइतबार र सोमबार जानकारी लिने र फिल्ड भिजिट समेत गर्ने गरी आफूहरूको एक टोली आइतबार पोखरा आएको संयोजक लिङ्देनले बताउनु भयो । आफूहरूले लागत, पहिले देखि हालको अवस्था, यसको उद्देश्य र आवश्यकताको बारेमा समेत सोधपुछ भएको उहाँको भनाई थियो । सुझावमा आएका विषय बस्तु माथि आफूहरूले गहन अध्ययन गर्ने उहाँले जनाउनु भयो  । 

करिब २२ अर्बमा उक्त विमानस्थल निर्माण भएको हो । पोखरा विमानस्थल निर्माणसम्बन्धी लिङदेनको संयोजकत्वमा गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य रहनु भएको छ । पोखरामा चाट्र्ड बाहेक नियमित हवाई अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button