तपाईँ सुन्दै हुनुहुन्छः

बलेफी–२ र जुगल–१ का पहिरो प्रभावित २५ घर परिवारलाई राहत वितरण

सिन्धुपाल्चोक । असोज १२ गतेको पहिरोबाट प्रभावित बलेफी–२, अर्चलेका १६ र जुगल–१, कुनेगाउँका ९ गरी २५ घर परिवारलाई राहत वितरण गरिएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, चीनले उपलब्ध गराएको राहत सामग्री सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा लगायतका जनप्रतिनिधिले प्रभावित घरपरिवारलाई हस्तान्तरण गर्नुभयो । सांसद सापकोटाको समन्वयमा राहत सामग्री सङ्कलन गरिएको हो ।

बलेफी २ को अर्चलेमा आयोजित कार्यक्रममा सापकोटाले प्रभावितलाई सामग्री वितरण गर्दै सांसद सापकोटाले सबै संयन्त्र प्रयोग गरेर पहिरो पन्छाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बलेफी गाउँपालिका मार्फत पहिरोले क्षति भएको कृषि उत्पादनको क्षतिपूर्ति दिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले राहत सामग्री उपलब्ध गराउने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, चीनका संयोजक प्रदीप नेपाल र टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, अमृता नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गङ्गा बहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, बलेफी–२ का अध्यक्ष छविलाल न्यौपाने, इलाका प्रहरी कार्यालय जलविरेका सुरक्षाकर्मी र स्थानीय बासिन्दाको उपस्थिति थियो । अर्चलेको पहिरोले दर्जनौँ किसानको खेत बगरमा परिणत भएको छ ।

आजै जुगल गाउँपालिका–१, कुनेगाउँका पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । मृतक परिवारलाई भेटेर समवेदना, राहत सामग्री हस्तान्तरण गरेपछि सांसद सापकोटाले प्रभावित परिवारको रोजगारी र बस्ती संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कुनेगाउँमा असोज १२ गतेको पहिरोले २ घर बगाउँदा २ जनाको मृत्यु भएको थियो, २ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button