तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो

खोटाङ । अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध भएको सडक नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि आज खुलाइएको हो ।

हलेसी–जयराघाट सडकखण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौँठे खोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लाबाट खोटाङ आएका साना तथा ठूला यातायातका सवारी साधन (गाडी) जयरामघाट, डौँठे खोला र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटार लगायतका ठाउँमा रोकिएका थिए । पहिरोले सडक अवरुद्ध भएर बीच सडकमा गाडी रोकिएपछि त्यसमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए ।

दिक्तेल–हलेसी–जयरामघाट हुँदै राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडक पटक पटक अवरुद्ध हुँदै आएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडकलाई निर्वाधरुपमा सञ्चालन गर्ने प्रयास गरिएको छ । त्यसका लागि प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेर मर्मत कार्य शुरु गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button