तपाईँ सुन्दै हुनुहुन्छः

अविरल बर्षापछि नरैनापुरका दुई दर्जन बढी गाउँ डुबानमा

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाका दुई दर्जन बढी गाउँ डुबानमा परेका छन् ।

तीन दिनदेखि परेको अविरल बर्षाका कारण पालिकाका ६ वटै वडाका दुई दर्जन बढी गाउँ डुबानमा परेका हुन् । वडा नम्बर १ का महतिनिया, बनियागाउँ, सुइया, वडा नम्बर २ का रोशनपुर्वा, गंगापुर, मियाँपुर्वा, लक्ष्मणपुर र वडा नम्बर ३ का बालापुर, कोटिया, पचपेडवा, जनतापुर,

रेतहिया, गेगली, कोदिपुर्वा लगायतका गाउँ डुबानमा परेका छन् । यस्तै वडा नम्बर ४ का नरैनापुर, घोडदौरिया, जयरामपुर्वा, खोदावा, वडा नम्बर ५ का मटेहिया, नेवाजीगाउँ, भगवानपुर, मोतीपुर, महादेवनगर तथा वडा नम्बर ६ का नयाँ बस्ती, गंगापुर, भोजपुर, कुदरबेटवा, सोनबर्षा, दोदरा लगायतका गाउँ डुबानमा परेको विपद व्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्रले बताउनुभयो । नरैनापुर पूरै जलमग्न भएको मिश्रको भनाई छ ।

बस्ती पानी पानी भएको मटेहियाका स्थानीय गुरुमुरत यादवले बताउनुभयो । घरभित्रै पानी पस्न थालेको अवस्था रहेको यादवको भनाई छ ।निरन्तर झरीका कारण डुबानको जोखिम बढेकाले सतर्क रहन गाउँपालिकाले आग्रह गरेको छ । अध्यक्ष इश्तियाक अहमद शाहले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । उहाँले उद्धारका लागि सुरक्षा संयन्त्र र स्थानीय विपद समिति तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button