तपाईँ सुन्दै हुनुहुन्छः

संविधान संशोधनमा श्रम आयोगको व्यवस्था हुन्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधान संशोधनका क्रममा श्रम आयोगको व्यवस्था गर्न पहल गरिने बताउनुभएको छ ।

स्व गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी वर्षका अवसरमा जिपी कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘शान्ति र क्रान्तिका नायक जिपी कोइराला’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले २०६३ सालको अन्तरिम संविधानमा व्यवस्था भएको श्रम आयोगको आवश्यकता अहिले पनि उत्तिकै आवश्यक रहेकामा जोड दिनुभयो ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमति कार्यान्वयन गर्न नसकिए देशमा अप्ठ्यारो अवस्था आउने भएकाले यसमा चनाखो भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचन प्रणालीमा सुधार गर्न सकिए जनताले चाहेको पूरा हुने भएकाले पनि संविधान संशोधन गरिनुपर्ने नेता कोइरालाको भनाइ थियो । स्थिरताका लागि पनि निर्वाचन प्रणालीमा सुधार गरिनुपर्ने उहाँले बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले कसैले प्रश्न उठाउन नसक्ने गरी कांग्रेस र एमालेबिच भएको सहमति अनुसारको सरकार सञ्चालन हुनुपर्ने बताउनुभयो । श्रम आयोग स्थापना गर्न संविधान संशोधन गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेताहरू पुष्कर आचार्य, लक्ष्मणबहादुर बस्नेत, विजयबहादुर स्वाँर, तेजेन्द्रजङ्ग कार्की, अजयकुमार राई, सुधा दाहाल, मातृकाप्रसाद शिवाकोटी लगायतले श्रमिक वर्गका हक अधिकार सुरक्षित गर्ने गरी संविधान संशोधन गर्न र श्रम आयोगको व्यवस्था गर्न माग गर्नुभएको थियो ।

सो अवसरमा प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button