तपाईँ सुन्दै हुनुहुन्छः

सरितालाई  भारोत्तोलनमा स्वर्ण

काठमाडौँ । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशकी सरिता थुलुङले आज स्वर्ण जितेकी छन् । 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ६७ केजीमाथि तौल समूहमा सरिताले ६५ केजी भारवहन गरिन् । वाग्मती प्रदेशकी सङ्गीता लिम्बूले ४१ केजी तथा गण्डकी प्रदेशकी भावना केसीले ४० केजी तौल उठाउँदै क्रमशः रजत र स्वर्ण हात पारे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद सङ्घ नेपालको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको महिला ६७ केजीमुनि कोशीकी अनुकला राई पहिलो भइन् । अनुले ४२ केजी वजन उचालिन् । कोशीकै सम्झना वन दोस्रो तथा गण्डकीकी शर्मिला विश्वकर्मा तेस्रो भए । सम्झनाले ४० तथा शर्मिलाले ३६ केजी भार बहन गरे ।

उक्त प्रतियोगिताको ५० केजीमुनि ३४ केजी तौल उचालेकी लुम्बिनी प्रदेशकी हुमा मगरले स्वर्ण जितिन् । २५ केजी तौल उठाएकी सुदूरपश्चिमकी रोशनी थापा दोस्रो भइन् ।

दुई दिने प्रतियोगिताको पुरुषमा चार र महिलामा तीन गरी सात स्पर्धामा ४२ खेलाडीको सहभागिता रहेको राष्ट्रिय पारा भारोत्तोलन खेलकुद सङ्घ नेपालका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button