तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारले ६५ लाख बिरुवा संरक्षण सहित वृक्षारोपण गर्ने 

जनकपुरधाम । चरे तथा वनजंगल विनाशका कारणले मधेश प्रदेशमा परेको नकारात्मक असरलाई न्यून गर्नका लागि मधेश प्रदेशमा अगामी आर्थिक वर्षमा ६५ लाख बिरुवा संरक्षण सहित वृक्षारोपण गरिने भएको छ । 

मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय वृक्षारोपण दिवसको पूर्व सन्ध्यामा आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहले सो विषयमा  जानकारी दिनु भएको हो । 

उहाँले वोर्ट बिरुवा मानवका लागि फोक्सो भएको बताउँदै प्रदेश सरकारले वृक्षारोपण गर्दा संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने दाबी गर्नु भयो । वनमन्त्री शाहले वृक्षारोपण गर्ने अभियान वर्ष भरि नै भइरहने बताउँदै सपेताको रुखले पानी सुकाउँछ भन्ने विषयमा कुनै तथ्य प्रमाणहरू फेला नपरेको जानकारी दिनु भयो । 

वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले यस पटक प्रदेश सरकारको तर्फबाट हुने वृक्षारोपणको काम संरक्षण सहित हुनुका साथै रोपिएको वृक्षको ट्रयाकिङ्ग गर्ने व्यवस्था मिलाउने जानकारी दिनु भयो । उहाँले चुरे मानव रहित बनाउन नसकिने भएकाले चुरेको संरक्षण मानव सहितको गर्न गर्ने पक्षमा प्रदेश सरकार अगाडी बढेको बताउनु भयो । 

वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी वेचन महताेले राष्ट्रिय वृक्षारोपण अभियान अन्तर्गत एक हप्ता भित्रमा मधेश प्रदेशका ८ जिल्लामा १ लाख ४७ हजार ६ सय बिरुवा संरक्षण सहित रोपण गरिने जानकारी दिनु भयो । 

जसमा काठ नहुने, काठ हुने, सडकको सौन्दर्य बढाउने, जडीबुटी तथा फलफूलका बिरुवाहरू रहेको छ । मधेश प्रदेश सरकार मातहत भएका नर्सरी तथा उद्यानहरूमा वृक्षारोपण गर्नका लागि ३२ लाख देखि ३५ लाख बिरुवा तयारी अवस्थामा रहेको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । 

राष्ट्रिय वृक्षारोपण अभियानको शुरुआत भोली जनकपुर जटही सडकको गंगुली देखि विनहीसम्म ४ किलोमिटरमा गरिने भएको छ । मधेश प्रदेशको जनसङ्ख्या भन्दा बढी बिरुवा रोपिने गरि प्रदेश सरकार अगाडी बढेको मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button