तपाईँ सुन्दै हुनुहुन्छः

पौराणिक विषयमा लिखित उपन्यास ‘कुन्ती’ सार्वजनिक

काठमाडौँ । वरिष्ठ पत्रकार हरिविनोद अधिकारीद्वारा लिखित पौराणिक उपन्यास ‘कुन्ती’ विमोचन गरिएको छ ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबीच साहित्यकार डा नवराज लम्साल, डा गोविन्द भट्टराई, समालोचक ज्ञानु अधिकारी, प्राध्यापक विष्णु राई, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल तथा पत्रकार तारानाथ दाहालले सामूहिकरुपमा उक्त कृति विमोचन गर्नुभएको हो ।

कृतिमाथि टिप्पणी गर्दै डा लम्सालले भन्नुभयो, “महाभारतकी पात्र कुन्तीले कर्णलाई गरेको व्यवहारका कारण मैले उनीमाथि सकारात्मक दृष्टिकोण बनाउन सकेको थिइनन्, उपन्यासकार अधिकारीको व्याख्याले ममा पौराणिक पात्र कुन्तीप्रति सकारात्मक अनुभूति जाग्यो ।”

समालोचक ज्ञानु अधिकारीका अनुसार उपन्यास सरल र सरस भएकाले पूर्वीय दर्शन र पौराणिक अध्ययनका लागि पठनीय छ । “लेखकले आफू पुरुष भएर पनि महिला पात्रप्रति गहन बुझाइ राख्नुभएको छ । यो सकारात्मक पक्ष हो,” उहाँले भन्नुभयो ।

प्रा डा विष्णुसिंह राईले संवादबिना नै सम्पूर्ण उपन्यास सक्ने अनौठो कला लेखकमा पाएको टिप्पणी गर्नुभयो । कुन्ती पात्रलाई उपन्यासमा न्याय भए पनि अन्य पात्रहरूलाई बीचमा नल्याएको भए अझ राम्रो हुने प्रा डा भट्टराईको सुझाव थियो ।

पूर्वन्यायाधीश गिरिशचन्द्र लालले महाभारतका अनेक जटिल विषयलाई सरल भाषामा प्रस्तुत गरिएको उपन्यासले पूर्वीय दर्शनमा रुचि राख्ने सबैलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा पत्रकार तारानाथ दाहालले महाभारत जस्तो विशाल ग्रन्थका बारेमा अहिलेको पुस्तालाई राम्रो जानकारी प्रदान गर्ने उपन्यास लेखेकोमा उपन्यासकार अधिकारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सानैदेखि महाभारत अध्ययनमा आफ्नो रुचि भएको बताउँदै उपन्यासकार अधिकारीले उक्त पौराणिक कथाकी पात्र कुन्तीको विद्रोह चेतले किताब लेख्न उत्प्रेरित गरेको सुनाउनुभयो ।

“सही उद्देश्यसहित क्रान्तिमार्फत शान्ति स्थापना गर्नुपर्छ भन्ने कुन्तीको अडान थियो । उनी मौन तर विद्रोही पात्र भएकी र उनका बारेमा कम लेखिएकाले पनि मैले यसमाथि किताब लेखेँ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button