तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बायो इन्जिनियरिङ प्रविधिमार्फत भूक्षय राेक्ने प्रयास

सल्यान । सल्यानमा बायो इन्जिनियरिङ प्रविधि मार्फत पहिरो तथा भुक्षय नियन्त्रणको प्रयास थालिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकुलन तथा मुहान र जैविक विविधता संरक्षणका लागि बायो इन्जिनियरिङ प्रविधिको सुरुवात भएको हो ।

छत्रेश्वरी, ५ स्थित महेन्द्र माध्यमिक विद्यालयमा भुक्षय र पहिलोको जोखिम व्यवस्थापनका लागि बायो इन्जिनियरिङ्ग गरिएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिनु भयो । यस प्रविधि मार्फत पानीको मुहान संरक्षण, विपद्को जोखिम व्यवस्थापन र जैविक विविधता संरक्षण गर्न सकिने उहाँको भनाई छ । 

बायो इन्जिनियरिङ्ग मार्फत ढुंगा, माटो खसिरहेका क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनका कार्य गरिन्छ । विद्यालय क्षेत्रको जोखिम क्षेत्रमा भुक्षय नियन्त्रणका लागि स्थानीय स्तरमा पाइने बाँस लगायतका सामग्री प्रयोग गरेर पाली सेट निर्माण गरेर बायो इन्जिनियरिङ गरिएको  छ । 

बायो इन्जिनियरिङ्ग अन्तर्गत कास, अम्रिसो, घाँसे प्रजातिसँगै सिमली, असुरो, बाँस, सजीवन जस्ता बिरुवा रोप्ने गरेमा यसले एक तर्फ पहिरो खस्नाबाट जोगाउँछ भने अर्कोतर्फ पानीको मुहान सुक्नबाट समेत जोगाउने प्राविधिकहरु बताउँछन् । बायो इन्जिनियरिङ्गले हरियाली बढाउन तथा हिउँदमा हावाले माटो उडाउने समस्या पनि यसले रोक्ने भएको हुँदा जिल्लाको परिवेशमा यो प्रविधि उपयुक्त हुने छत्रेश्वरी गाउँपालिकाका वास फोकलपर्सन मिलन वलीले बताउनु भयो । 

सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) अन्तर्गत गाउँपालिकाले स्थानीयहरुलाई यस प्रविधिको बारेमा सीप प्रदान गरेको हो । नेपालको परिवेशमा उपयुक्त र कम लागत पर्ने बायो इन्जिनियरिङ्ग प्रविधि निकै प्रभावकारी देखिएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button