तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरपालिकामा अख्तियारको टोली, कागजपत्र नियन्त्रणमा

पोखरा । पोखरा महानगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारी मणिपाल शिक्षण अस्पतालको विषयमा रहेको कागजपत्र समेत नियन्त्रणमा लिएको छ । महानगरले पोखरा ११ फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पताललाई नियम विपरीत करिब २० करोड छुट दिइएको विषयमा उजुरी परेपछि छानबिनका लागि कागजात नियन्त्रण गर्र्न मङ्गलवार अख्तियारको टोली महानगरपालिकाको कार्यालय पुगेर आवश्यक कागजपत्र नियन्त्रणमा लिएको हो । 

महानगरले मणिपाल शिक्षण अस्पतालको नक्सा पास गर्दा दिएको छुटको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालयमा उजुरी परेसँगै आफूहरूको एक टोली मङ्गलवार महानगरमा पुगी आवश्यक कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी जगदिश चन्द्र शिवाकोटीले बताउनु भयो । महानगरले असुल्नुपर्ने करमा छुट दिएको विषयमा हाल अध्ययन अनुसन्धान भई रहेको उहाँले जनाउनु भयो । अध्ययन पश्चात् मात्र उक्त घटनाको विषयमा थप जानकारी गराउने सूचना अधिकारी शिवाकोटीले जनाउनु भयो । 

मणिपाल अस्पतालसँग सम्बन्धित राजस्व छुट दिने देखि सम्बन्धी महानगरपालिकाको कार्यपालिकाको बैठकको निर्णय र अन्य सबै फाइल नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा सहितको टोली भएको अवस्थामा अख्तियारको टोली महानगरमा पुगेको थियो । 

महानगरपालिकाको २०७९ चैत १० मा बसेको १६ औँ बैठकले १ करोड ७५ लाख ५३ हजार रुपैयाँ मात्र राजस्व लिएर नक्सा पास दिने निर्णय गरेको थियो । त्यसपछि मणिपालले नक्सा पास एवं भवन निर्माण सम्पन्न प्रमाणपत्र बापत १९ करोड ८१ लाख ११ हजार रुपैयाँ छुट प्राप्त गरेको थियो । मणिपाल अस्पतालले बनाएका भवनको नक्सा पास र जरिवाना सहित २१ करोड ५७ लाख ११ हजार ७९८ रुपैयाँ राजस्व महालेखाको २०७६–७७ को प्रतिवेदनले असुल गर्न भनेको थियो । २०७९ र ८० को महालेखाको प्रतिवेदनले मणिपाललाई भारी छुट दिइएकोमा प्रश्न उठाएपछि यो विषय बाहिर आएको हो । महानगरको १५ औँ नगर सभामा समेत उक्त विषयमा सभा सदस्यहरुले यस विषयमा मेयर धनराज आचार्य समक्ष प्रश्न गर्नु भएको थियो । 

यसैबिच, नेकपा एमाले कास्कीले महानगरले मणिपाल अस्पताललाई छुट दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मङ्गलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले पोखरा महानगरका अध्यक्ष जीवन प्रसाद आचार्यले उक्त राजश्व छुट दिने विषयमा एमालेका कुनै वडा अध्यक्ष देखि समितिका कुनै पदाधिकारी संलग्न भएमा आवश्यक कारबाही गर्ने चेतावनी दिँदै उक्त छुट दिने विषयमा महानगरले महानगरका जनताको हित विपरीत निर्णय गरेको उल्लेख गर्नु भयो । बैठकको निर्णय पुस्तिकामा लेख्नुपर्नेमा स्वार्थ समूहको इशारामा विवादास्पद निर्णयहरू महानगरले गरी भ्रष्टाचारको दलदलमा फसेको एमालेको आरोप छ । यस विषयमा सूचना अधिकारी र प्रवक्ताले गोलमोटल जबाफ दिने महानगरका मेयर धनराज आचार्यले जबाफ दिन नचाहेको अध्यक्ष आचार्यले गुनासो गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button