तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यमा सबैको पहुँच अनिवार्य : सभामुख घिमिरे

भद्रपुर, झापा । सभामुख देवराज घिमिरेले संविधानतः स्वास्थ्यमा सबै वर्गका जनताको पहुँच पुग्नुपर्ने बताउनुभएको छ ।

झापाको अर्जुनधारामा आज शनिश्चरे अस्पतालले यसै वर्षदेखि सञ्चालन गरेको शल्यक्रियासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवाको उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समय अस्वस्थकर खानपान र विलासी जीवनशैलीका कारण जटिल रोगका समस्या बढ्दै गएको भन्दै आफ्नो स्वास्थ्यप्रति ख्याल गर्न पनि नागरिकहरूलाई आग्रह गर्नुभयो ।

उहाँले सरकारले कोही नागरिक पनि उपचार पाउनबाट बञ्चित हुन नपरोस् भनेर स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरेको बताउँदै सबै नागरिकले यो कार्यक्रमबाट लाभ लिनुपर्ने बताउनुभयो ।

लोकतन्त्रमा कसैले पनि खर्चको अभावमा उपचारबाट वञ्चित हुन नहुने बताउँदै उहाँले त्यसका लागि अहिले स्थानीय तहहरूमै सुविधा सम्पन्न अस्पताल र स्वास्थ्य चौकीहरू स्थापना भइरहेको पनि उल्लेख गर्नुभयो ।

अर्जुनधारा नगरपालिकाको स्वामित्वमा सञ्चालित शनिश्चरे अस्पतालमा विशेषज्ञ चिकित्सकसहित उत्कृष्ट ल्याबहरू रहेको बताउँदै सभामुख घिमिरेले अर्जुनधारावासीले उपचारका लागि अन्यत्र धाइरहनु नपर्ने बताउनुभयो ।

सरकारले नेपालमै पहिलो पटक शनिश्चरे अस्पतालमा पाइलट प्रोजेक्टको रुपमा शल्यक्रियासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको जानकारी दिँदै सभामुख घिमिरेले यसबाट लाभ लिन गर्भवती एवम् परिवारलाई आग्रह पनि गर्नुभयो ।

नगरप्रमुख बलदेव सिंह गोम्देनले सो सेवाका लागि अत्याधुनिक उपकरण, एनेस्थेसिया र विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सभामुख घिमिरेले अस्पताल र उपकरणहरुको अवलोकन गर्नुभएको थियो भने अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट योगेश चेम्जोङले विस्तारित शल्यक्रिया सेवाका पूर्वाधार तथा उपकरणहरूका बारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button