तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

बाँके । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएको छ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो ।

उहाँले राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म लुम्बिनी प्रदेश सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको बताउनुभयो ।

एमालेका तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरू राजीनामा बुझाउन मुख्यमन्त्री निवासमा पुग्नुभएको छ ।

एमालेले समर्थन फिर्ता लिइसकेपछि मुख्यमन्त्री महरासँग १८ जना मात्र सांसद छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ।

लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुखसहित ११ सांसद छन्। यस्तै नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३/३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक /एक जना तथा एक जना स्वतन्त्र गरि ८७ सांसद छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button