तपाईँ सुन्दै हुनुहुन्छः

एकल महिला सुरक्षा कोषको रकम उपयोग गर्न माग

काठमाडौँ । एकल महिलाको हित संरक्षण तथा प्रवद्र्धनका लागि स्थापना गरिएको ‘एकल महिला सुरक्षा कोष’को रकम उपयोग गर्न सम्बन्धित महिला अधिकारकर्मीले माग गर्नुभएको छ । 

राष्ट्रिय महिला आयोगले आज एकल महिलाको नीतिगतसम्बन्धी अधिकारका विषयमा गरेको छलफलमा अधिकारकर्मीले उक्त कोषको रकम उपयोग गर्न माग गर्नुभएको हो । 

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले एकल महिला सवाललाई आयोगको तर्फबाट कार्यान्वयन गर्न सिफारिस गर्ने बताउनुभयो । साथै उहाँले आयोगले चालु आर्थिक वर्षमा सात वटै प्रदेशमा एकल महिलासम्बन्धी कार्यक्रम गरेर अवस्था अनुगमन गरेको जानकारी दिनुभयो । “यही आवाजलाई हामी सरकार समक्ष पु¥याउने मात्रै होइन, कार्यान्वयन गराउनसमेत जोड दिने छौँ”, उहाँले भन्नुभयो । 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले एकल महिलाको संरक्षण गर्न बनाएको एकल महिला सुरक्षा कोष पाँच वर्षसम्म उपयोग नहुनुले मुलुकका सात प्रतिशत जनसङ्ख्या भएका एकल महिलाले कठिनाइ भोगेको बताउनुभयो । “पाँच वर्षमा चार महिला मन्त्री परिवर्तन हुनुभयो, तर, कोषको उपयोग हुन सकेन”, उहाँले भन्नुभयो, “कोषमा छ करोड बजेट फ्रिज भएको छ, एकल महिलाले दुःख पाएका छन् ।” उहाँले महिला मन्त्रालयले कोषको उपयोगमा  तुरुन्तै ध्यान दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा कविता पाण्डेले एकल महिलाको अवस्थामाथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले विश्वभरी एकल महिलाको अवस्था दयनीय रहेको तथ्य देखाउँदै नेपाली एकल महिलाको स्थिति दर्दनाक रहेको बताउनुभयो । “राज्यले एकल महिलाको न्यायका लागि राम्रा कानुन बनायो तर, कार्यान्वयन गराउन सकेन,” उहाँले भन्नुभयो, “बनेका कानुन र नीति तुरुन्तै लागू गर्न सरकारलाई दबाब दिन आवश्यक छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button