तपाईँ सुन्दै हुनुहुन्छः

कृषि क्षेत्रको विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक: मन्त्री साह

काठमाडौँ । कृषि तथा पशुपंक्षि विकास मन्त्री ज्वालाकुमारी साहले देशको आर्थिक समृद्धिको मुख्य आधारका रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजनाको समापन तथा नतिजा प्रसार समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै कृषि तथा पशुपंक्षि विकास मन्त्री साहले आयोजनाले पशुपालन व्यवसायमा आबद्ध कृषकहरूलाई व्यवसायीक बनाउन पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । 

कृषि मन्त्री साहले सरकारले कृषि तथा पशुपक्षी क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको र दातृ निकायहरूको समेत यस क्षेत्रमा महत्वपूर्ण सहयोग रहने भएकाले आधुनिक तरिकाले लाग्ने हो भने कृषिबाट नै नेपालको समृद्धि सम्भव रहेको पनि बताउनुभयो । 

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको पशुपक्षी विकास तर्फका सचिव राजेन्द्रप्रसाद मिश्रले नेपाल पशुपक्षी जन्य बस्तुको उत्पादनमा आत्मनिर्भर हुँदै गएको उल्लेख गर्नुहुँदै आगामी दिनमा यस क्षेत्रमा अझ बढी जोड दिई काम गर्नुपर्ने बताउनुभयो । 

विश्व बैंकको सहयोगमा नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजनाले सन् २०१८ मा पञ्च वर्षीय आयोजनाका रुपमा काम सुरु गरेको थियो । 

त्यस आयोजना बाट पशुको गोठ सुधार, भेटेनरी सेवालाई आधुनिकीकरण गर्न विभिन्न सरोकारवाला संस्थाहरूलाई उपकरणहरू प्रदान गरिनुका साथै पशुपालक किसान तथा सम्बद्धहरूको क्षमता विकासका लागि महत्वपूर्ण कार्यहरू सम्पन्न भएको आयोजनाले जनाएको छ । 

यस्तै आयोजनाको कार्यक्रमहरूबाट व्यावसायिक फर्महरूको स्थापना, दूध उत्पादनमा वृद्धि, कृषि तथा पशुपक्षी क्षेत्रमा महिलाको सहभागिता बढ्नु सँगै सशक्तिकरण समेत भएको र समग्रमा आयोजना परिवर्तनकारी पहलका रुपमा देखिएको आयोजनाका उच्च अधिकारीहरुले बताउनुभयो । 

आयोजना सञ्चालनमा रहँदा ३० वटा बाख्राबाट बाख्रा पालन सुरु गरेका केही कृषकले अहिले सम्म आई पुग्दा १ हजार १ सयको सङ्ख्यासम्म बाख्रा पालन गरी उत्पादन वृद्धि र बेचबिखन गरी लाखौँ रुपैयाँ कमाउन सफल भएका कार्यक्रममा प्रस्तुतीकरणका क्रममा आयोजनाका अधिकारीहरुले जानकारी दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button