तपाईँ सुन्दै हुनुहुन्छः

जलवायुमैत्री कृषि उत्पादनमा जोड 

चितवन ।  पछिल्लो समय जलवायु परिवर्तनले कृषि क्षेत्रमा प्रतिकुल असर परेको भन्दै जलवायुमैत्री कृषि उत्पादनमा जोड दिइएको छ ।

फोर एच नेपालले आयोजना गरेको तेस्रो कृषि युवा लिडरसिप समिटमा सहभागी वक्ताहरूले युवालाई विदेश पलायनबाट रोकेर कृषि उत्पादनसँग जोड्नुपर्नेमा जोड दिनुभएको हो । समिटको उद्घाटन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गर्नुभएको थियो र उद्घाटनपछि  बोल्नुहुँदै प्रमुख शर्माले नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवाहरूलाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “रोजगारी र उच्च शिक्षाको वाहनामा नेपालीहरू विदेश पलायन भएका छन् । यसलाई रोक्ने सरकार, सांसद र सरोकारवाला लाग्न जरुरी छ ।” युवालाई कृषि क्षेत्रमा जोड्न सके देशमा परनिर्भरता हट्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ ज्ञान,प्रविधि सिप आयात गर्न सकिन्छ तर युवाशक्ति , नेता–नेतृ आयात गर्न सकिँदैन ।’

युवाशक्ति देशको सम्पत्ति भएको बताउँदै उहाँले हाम्रो परिवार, समाज र सिङ्गो राष्ट्रका लागि आवश्यक युवाशक्ति विदेश पलायन हुनु देशका लागि दुखद भएको उहाँको भनाई थियो । नयाँ सोच र नयाँ प्रतिबद्धताको आवश्यकता अहिलेको समाजमा रहेको उहाँले बताउनुभयो । राज्यले पुरा गर्नुपर्ने अभिभावकीय भूमिकालाई महत्व दिदैं युवाहरूलाई स्वदेशमै लगाउनु पर्ने उहाँको भनाई थियो  । उहाँले थप्नुभयो “यो देशमा केही हुँदैन भनेर बिदेसिन चाहने युवालाई यही कर्म गर्ने वातावरण बनाउन जरुरी रहेको छ ।” कृषिमा आधारित हाम्रो समाज, अर्थतन्त्र र उद्योगहरूबाट नै अग्रगमनको खाका तयार हुने उहाँको भनाई थियो । 

कार्यक्रम बारे बोल्दै फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले युवालाई विदेश पलायनबाट रोक्न र स्वदेशमै आधुनिक तथा जलवायुमैत्री कृषि उत्पादन गर्न समिटका आयोजना गरिएको बताउनु भयो । ‘पछिल्लो समय युवाहरू आधुनिक कृषि प्रणालीमा होमिन थालेका छन्, यसैगरी अबका युवालाई जलवायुमैत्री कृषि उत्पादनमा पनि अभ्यस्त गराउनु पर्छ ।’उहाँले भन्नुभयो ।

कार्यक्रममा उद्योग,पर्यटन,वातावरण समिति बागमती प्रदेश सभाका सभापति आनन्द श्रेष्ठ, बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, द एसिया फाउन्डेसनकी वातावरण अधिकृत सविना लामाले जलवायु परिवर्तनले कृषि र समाजमा परेको असर बारे प्रकाश पार्नु भएको थियो । उनीहरूले जलवायु परिवर्तन विश्वको चुनौती रहेको बताउँदै यसको न्यूनीकरणका लागि एकजुट हुन आग्रह गर्नुभएको थियो  । जलवायु परिवर्तनले कृषि क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको भन्दै उहाँहरूले कृषिलाई आधुनिकीकरण गर्दै युवाहरूको भूमिकालाई बढाउन आवश्यक रहेको बताउनुभयो । राज्यका नीति तथा कार्यक्रमहरू युवा लक्षित बनाउँदै लैजान उहाँहरूले सुझाव समेत दिनुभयो । समिटमा कृषि क्षेत्रमा संलग्न देशभरिका  डेढ सय बढी युवाहरूको सहभागिता रहेको छ ।

बिहीबारबाट सुरु भएकाे समिट भोलि शनिबारसम्म चल्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button